नेपाल भलिबल लिग विजेता अन्नपूर्ण स्पाइकर किङ्ग्सलाई दमौलीमा भव्य स्वागत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाल भलिबल लिग विजेता अन्नपूर्ण स्पाइकर किङ्ग्सलाई दमौलीमा भव्य स्वागत

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०८३, आईतवार

    दमौली, ४ असोज । नेपाल भलिबल लिगको पहिलो संस्करणको विजेता अन्नपूर्ण स्पाइकर किङ्ग्स टोलीलाई शनिबार तनहुँको दमौलीमा भव्य स्वागत गरिएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा लिग विजेता टोलीलाई ट्रफीसहित बाजागाजाका साथ स्वागत गरिएको हो ।

    ‘गौरवको यात्रा’ नाम दिइएको स्वागत कार्यक्रममा खेलाडी तथा टोलीका सदस्यलाई दमौलीमा स्वागत गर्दै बजार परिक्रमा गराइएको थियो । विजेता ट्रफीसहित खेलाडीहरू सहभागी भएपछि खेलप्रेमी तथा स्थानीयवासीमा उत्साह देखिएको थियो ।

    स्वागतपश्चात् आयोजित कार्यक्रममा नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष उपाध्यायले नेपालमा भलिबल खेलको विकास र निरन्तरताका लागि सम्पूर्ण खेलप्रेमीको सहयोग र सद्भाव आवश्यक रहेको बताए ।

    उनले नेपाली भलिबल खेलाडीलाई राष्ट्रिय सीमाभन्दा माथि उठाउँदै विश्वस्तरसम्म पुग्ने अवसर प्रदान गर्ने उद्देश्यले नेपाल भलिबल लिगको सुरुवात गरिएको जानकारी दिए । लिगले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, व्यावसायिक रूपमा अघि बढ्ने र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धाका लागि आफूलाई तयार गर्ने अवसर प्रदान गर्ने उनको भनाइ थियो ।

    जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले तनहुँमा भलिबल खेलप्रति आकर्षण बढ्दो रहेको बताए । जिल्लाका विभिन्न स्थानमा भलिबल खेलप्रति युवाको रुचि रहेकाले त्यसलाई थप प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

    अध्यक्ष पाण्डेले राष्ट्रियस्तरको भलिबल प्रतियोगिता तनहुँमै आयोजना गर्ने लक्ष्य रहेको बताए ।