


तनहुँ, ७ असोज । राहदानी तथा राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक पर्ने फारम अब जिल्ला प्रशासन कार्यालय तनहुँबाटै निःशुल्क भरिने भएको छ। सेवाग्राहीले फारम भर्नका लागि बाहिरका पसलमा जानुपर्ने बाध्यता हटेसँगै सर्वसाधारणलाई थप सहज हुने भएको हो।
जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै कार्यालयबाटै फारम भर्ने व्यवस्था मिलाएको जनाएको छ। यसबाट फारम भर्न नजान्ने वा त्यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार राहदानी र राष्ट्रिय परिचयपत्रका लागि आवश्यक फारम कार्यालयबाटै निःशुल्क भरिदिने व्यवस्था गरिएको हो।
“सेवाग्राहीले फारम भर्नकै लागि बाहिर जानुपर्ने अवस्था नहोस् भन्ने उद्धेश्यले कार्यालयबाटै निःशुल्क फारम भरिदिने व्यवस्था गरेका छौँ,” रेग्मीले भने।
कार्यालयको उक्त व्यवस्थाले विशेषगरी प्रविधिको पहुँच कम भएका तथा अनलाइन फारम भर्न कठिनाइ हुने सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने भएको छ। सेवा लिन आउने नागरिकलाई अनावश्यक झन्झट र अतिरिक्त खर्चबाट बचाउन कार्यालयले यस्तो व्यवस्था गरेको जनाएको छ।