


तनहुँ ८ भदाै । नेपाल मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले आज सूचना जारी गर्दै तनहुँ पनि वर्षाको जोखिममा रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको हो । असोज ७ गते रातिदेखि नै जिल्लाका विभिन्न स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको र आगामी दिनमा थप जोखिम हुनसक्ने भन्दै प्रशासनले आवश्यक पूर्वतयारी अपनाउन अनुरोध गरेको छ ।
प्रशासनले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ । स्थानान्तरणका क्रममा समस्या भए स्थानीय तह तथा नजिकको सुरक्षा निकायसँग समन्वय गरी सहयोग लिन पनि आग्रह गरिएको छ ।
त्यस्तै, रातको समयमा अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए स्थानीय तह तथा सुरक्षा निकायबाट आवश्यक सूचना लिएर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ । यात्राका क्रममा गन्तव्यमा पुगेरै छाड्नेभन्दा आफू रहेको स्थान आसपास नै सुरक्षित ठाउँमा रोकिएर बस्न सुझाव दिइएको छ ।
अत्यावश्यक यात्रा गर्नुपर्ने अवस्थामा अतिरिक्त कपडा, ड्राइफुड, खानेपानी, मोबाइल चार्जर तथा प्राथमिक उपचारका आधारभूत औषधि साथमा राख्न प्रशासनले आग्रह गरेको छ ।
वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई सम्भावित जोखिमबाट जोगाउन पूर्वतयारीसहित सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।