


तनहुँ । मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म तनहुँका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि व्यास नगरपालिकाले नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नगरपालिकाले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै वर्षाका कारण बाढी, पहिरो, डुबान, नदी कटानलगायत विपद्को जोखिम हुनसक्ने जनाएको हो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी, खोला, खोल्सा तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ।
नगरपालिकाले पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने परिवारलाई विशेष सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जानका लागि पूर्वतयारी अवस्थामा रहन आग्रह गरेको छ। घर वरिपरिका पानी निकासका नाला, कुलो तथा ढल सफा राख्न, विद्युत्का तार तथा पोल र कमजोर संरचनाबाट टाढा रहन पनि अनुरोध गरिएको छ।
त्यस्तै, बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको विशेष ख्याल गर्न तथा अत्यावश्यक कागजात, औषधि, खानेपानी, सुख्खा खाद्यान्न, टर्च र मोबाइल चार्जको व्यवस्था तयारी अवस्थामा राख्न नगरपालिकाले आग्रह गरेको छ।
वर्षाका समयमा अनावश्यक यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडक तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्नसमेत नगरपालिकाले अनुरोध गरेको छ। बाढी, पहिरो वा अन्य विपद्को अवस्था देखिएमा तत्काल सम्बन्धित वडा कार्यालय, सुरक्षा निकाय वा स्थानीय विपद् व्यवस्थापन संयन्त्रमा खबर गर्न नगरपालिकाले आग्रह गरेको छ।
