खोज तथा उद्धारमा नेपाली सेनाको सक्रियता, ४ हजार २४२ जनाको हवाई उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    खोज तथा उद्धारमा नेपाली सेनाको सक्रियता, ४ हजार २४२ जनाको हवाई उद्धार

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०८३, बिहीबार

    काठमाडौं, ८ असोज । बाढीपहिरो तथा विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरेको खोज तथा उद्धार अभियानअन्तर्गत हालसम्म ४ हजार २४२ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९५९ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।

    आश्विन ८ गते साँझ ६ बजेसम्मको विवरणअनुसार नेपाली सेनाले रसुवा र नुवाकोटका त्रिशूलीपारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत क्षेत्रमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी कार्य जारी राखेको छ।

    सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम क्षेत्रमा ड्रोनमार्फत राहत तथा अत्यावश्यक सामग्रीसमेत पुर्‍याइएको छ। नेपाली सेनाका ड्रोनबाट नुवाकोट र रसुवाका विभिन्न स्थानमा हालसम्म ३६ हजार ३१७ केजी राहत सामग्री ढुवानी गरिएको जनाइएको छ।

    रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा ८ हजार २ सयभन्दा बढी नेपाली सेना प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन्।

    यसैगरी, बेत्रावती नदीमा पुल जडानका लागि उत्तरगया स्कुलदेखि बेत्रावती पुल खण्डमा रक कटिङ तथा ब्लास्टिङ गरी करिब २०० मिटर ट्र्याक खोलिएको छ।

    नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत आज थप १० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। हालसम्म उक्त सेवाबाट ४ हजार ४१ जना लाभान्वित भएका छन्।