वर्षाका कारण शुक्रबार तनहुँमा के के भयो ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वर्षाका कारण शुक्रबार तनहुँमा के के भयो ?

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०८३, शनिबार

    तनहुँ, १० असोज । बिहीबारदेखि परेको अविरल वर्षाका कारण तनहुँ पनि प्रभावित बनेको छ । निरन्तर परेको वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा पहिरो, ग्रामीण सडकमा पहिरो जानुका साथै घर र प्रहरी चौकी समेत जोखिममा परेको छ ।

    वर्षाका कारण म्याग्दे गाउँपालिका–७ तिलेटारमा भित्री सडकको डिलमा रहेको पर्खाल भत्किँदा एक घर जोखिममा परेको छ । स्थानीय यशोदा नेपालीको घरको पश्चिमपट्टि रहेको भित्री सडकको डिलको पर्खाल भत्किएको हो ।

    पर्खाल भत्किएपछि घर जोखिममा परेको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । जोखिममा परेको घरभित्र रहेका सामानहरू सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    वर्षाका कारण ऋषिङ गाउँपालिका–८ स्थित प्रहरी चौकीको भवन जोखिममा परेको छ । वर्षाकै कारण सोही वडाको श्रृ«ङ्गपथ मार्ग केही बेर अवरुद्ध भएको थियो । प्रहरीले पहिरो हटाएर साना सवारी साधन सञ्चालन गर्न मिल्ने बनाएको छ ।

    वर्षाका कारण आँबुखैरेनी गाउँपालिका–३ ऐनापहरास्थित पृथ्वीराजमार्गको सडक छेउमा रहेको चिया तथा खाजा पसल भासिएको छ । सन्तोष थापाले सञ्चालन गरेको फलाम र टिनले बनेको कच्ची चिया तथा खाजा पसल भासिएको हो । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी टोली घटनास्थलमा खटिएर सामानलाई सुरक्षित स्थानमा सारेको थियो ।

    वर्षाका कारण पहिरो जाँदा व्यास नगरपालिका–१२ घाँसीकुवामा मोटरसाइकल पुरिएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १३ प ३५६४ नम्बरको मोटरसाइकल पहिरोमा पुरिएको हो । उक्त घटनामा मानवीय क्षति भने नभएको प्रनाउ घिमिरेले बताए । लेदो सहितको पहिरोले उक्त खण्ड अवरुद्ध भएकामा प्रहरीले पहिरो पन्छाएर राजमार्ग सुचारु गराएको छ ।

    पृथ्वीराजमार्गको जोखिम क्षेत्र अनुगमन

    अविरल वर्षाका कारण पृथ्वी राजमार्ग तथा मुग्लिङ–पोखरा सडकखण्डमा देखिएका सम्भावित जोखिमको स्थलगत अनुगमन गरिएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्की, जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा मुग्लिङ–पोखरा सडकखण्ड आयोजनाका इन्जिनियर अमित ढकालसहितको टोलीले सडकखण्डका विभिन्न जोखिम क्षेत्रको निरीक्षण गरेको हो ।

    टोलीले आँबुखैरेनी गाउँपालिका–३ ऐनापहरा, व्यास नगरपालिका–१२ छिर्कनस्थित पहिरो क्षेत्र तथा बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा जोखिममा परेको स्थानीयको घर लगायतका स्थानको स्थलगत निरीक्षण गरेको थियो ।

    अनुगमनका क्रममा सडकमा पहिरो तथा अन्य जोखिमको अवस्था बुझ्नुका साथै सम्भावित जोखिम न्यूनीकरण र सडक यातायातलाई सुरक्षित बनाउने विषयमा सम्बन्धित निकायसँग समन्वय गरिएको बताइएको छ।