


तनहुँ १० असाेज । नारायणी नदीको देवघाट जलमापन केन्द्रमा जलसतह खतरा तह नजिक पुगेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।बाढी पूर्वानुमान महाशाखाले शनिबार दिउँसो २ः३० बजे सूचना जारी गर्दै नदी छेउछाउका बासिन्दालाई भोलिसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
यस विषयमा सम्बन्धित निकायबीच आवश्यक समन्वय तथा सञ्चार भइसकेको र सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाइएको जनाइएको छ। साथै, नदी आसपासका स्थानीय बासिन्दालाई सचेत गराउन माइकिङ गर्ने कार्यसमेत भइरहेको बताइएको छ।सम्भावित बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित रहन र सतर्कता अपनाउन आग्रह गरिएको छ।