


तनहुँ, १५ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. २ बाट राजेशकुमार श्रेष्ठ युवा महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्। श्रेष्ठले ४६७ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठले पार्टीभित्र युवाको आवाज र विद्यार्थीका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको बताएका छन्। महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उनले आफूलाई विश्वास गरेर मतदान गर्ने क्षेत्रीय प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्।
श्रेष्ठले विद्यार्थी संगठन खारेज गर्ने सरकारी प्रयासका बेला आफू आन्दोलनमा सक्रिय रूपमा सहभागी भएको स्मरण गर्दै त्यसबेला पनि विद्यार्थीको अधिकारका लागि आवाज उठाएको बताए।
उनले पछिल्लो जेनेरेशन जेड (Gen Z) आन्दोलन का क्रममा समेत संविधानको रक्षाका लागि आफू सडकमा उत्रिएको उल्लेख गरे। पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसमेत बोल्न डराइरहेको अवस्थामा आफूले सुरक्षाकर्मीको कडा कारबाहीको जोखिमसमेत बेहोरेर सडकमा उत्रिएको उनको भनाइ छ।
श्रेष्ठले आफूले युवा पुस्ता र विद्यार्थीको प्रतिनिधित्व गर्दै पार्टीभित्र उनीहरूका सवाललाई बुलन्द रूपमा उठाउने उद्देश्यले उम्मेदवारी दिएको बताए।
“म युवा आवाजको प्रतिनिधित्व गर्न र विद्यार्थीका लागि पार्टीभित्र बुलन्द आवाज उठाउन उम्मेदवार बनेको हुँ,” उनले भने, “ममाथि विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण क्षेत्रीय प्रतिनिधिप्रति हार्दिक आभार व्यक्त गर्दछु। आगामी दिनमा पनि यहाँहरूको माया, विश्वास र साथ निरन्तर पाइरहने विश्वास लिएको छु।”
श्रेष्ठले महाधिवेशन प्रतिनिधिका रूपमा युवा तथा विद्यार्थीका सवाललाई पार्टीको नीति र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।