


तनहुँ, १७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अमेरिका–क्यानाडा–अष्ट्रेलिया–न्युजिल्यान्ड क्षेत्रबाट तनहुँका रामजीवी पन्थले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
प्रवासमा रहेर नेपाली कांग्रेसको संगठनमा लामो समयदेखि सक्रिय पन्थले आफ्नो उम्मेदवारीलाई प्रवासी नेपालीका मुद्दा पार्टीको नीति निर्माण तहसम्म पुर्याउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।
पन्थ नेपाली जनसम्पर्क समिति इटालीका संस्थापक हुन्। उनले जनसम्पर्क समिति जर्मनीबाट १४औँ महाधिवेशनमा महासमिति सदस्य तथा जनसम्पर्क समिति अमेरिकाबाट १५औँ महाधिवेशनका प्रतिनिधिका रूपमा समेत भूमिका निर्वाह गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै पन्थले दोहोरो नागरिकताको अधिकारको प्रभावकारी कार्यान्वयन, विदेशबाट मतदान गर्ने अधिकार, दोहोरो करसम्बन्धी समस्या समाधान लगायतका विषयलाई प्राथमिकतामा राखेका छन्।
त्यस्तै, विश्वभर रहेका नेपाली जनसम्पर्क समितिलाई पार्टीसँग थप सशक्त रूपमा जोड्ने तथा प्रवासी नेपालीका समस्या र आवाजलाई कांग्रेसको केन्द्रीय नीति निर्माण तहसम्म पुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीका श्रम, पारिश्रमिक, सुरक्षा, कानुनीलगायतका समस्या समाधानका लागि सम्बन्धित निकाय र नीति निर्माण तहमा प्रभावकारी रूपमा आवाज उठाउने पन्थको भनाइ छ।
उनले आफ्नो उम्मेदवारीमा प्रवासी नेपालीको साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन्।