


तनहुँ, १७ असोज । नेपाली कांग्रेस तनहुँका जिल्ला सचिव एवं महाधिवेशन प्रतिनिधि लक्ष्मीभक्त खनालले अनुभवी युवा पुस्तालाई जिल्ला नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्न आग्रह गरेका छन्।
विशेष महाधिवेशनका अगुवा निवर्तमान क्षेत्रीय सभापति श्याम मौरती, चुडामणी खनाललगायत परिवर्तनकारी युवा पुस्ताका अनुभवी नेताहरूलाई लक्षित गर्दै खनालले कांग्रेस जिल्ला नेतृत्वसँगै प्रदेश तथा केन्द्रको नेतृत्वबारे बहस अघि बढाउन आह्वान गरेका हुन्।
खनालले उमेरले मात्र नभई सोच, ऊर्जा र अनुभवका आधारमा युवा पुस्ताले नेतृत्वको जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनले केन्द्रीय महाधिवेशनअघि नै जिल्ला सभापतिको उम्मेदवार बन्ने घोषणा गर्न नेताहरूलाई आग्रह गर्दै आफूले सहयोग गर्ने र अभियानमा जोडिने प्रतिबद्धता जनाएका छन्।
‘कि डटेर उम्मेदवारी घोषणा गर्नुस्, कि खुलेर सहयोग गर्नुस्’ भन्दै उनले युवा पुस्ताले अब पनि नेतृत्वका लागि आँट नगरे नयाँ तथा जेन्जी पुस्ताको भरोसा गुम्ने धारणा व्यक्त गरेका छन्।
४६ सालको आन्दोलनदेखि २०६२/६३ को जनआन्दोलन र पछिल्लो २०८३ को जेन्जी आन्दोलनसम्मका राजनीतिक घटनाक्रम अनुभव गरेको पुस्ताले अग्रजलाई सम्मान गर्दै नयाँ पुस्तालाई समेत समेटेर पार्टी र देश निर्माणमा जिम्मेवारी लिनुपर्ने खनालको भनाइ छ।
उनले युवाको नारा आवश्यकता अनुसार मात्र लगाउने प्रवृत्तिको अन्त्य गर्दै युवा पुस्ताको सामूहिक नेतृत्व विकासका लागि सबैले आफ्नो ठाउँबाट स्पष्ट निर्णय र पहल गर्नुपर्ने बताएका छन्। खनालले ‘परिवर्तन यसै पटक सम्भव छ र अनिवार्य छ’ भन्दै नेतृत्वका लागि अघि बढ्न आह्वान गरेका छन्।