


तनहुँ, १८ असोज । “जलवायु मैत्री खेती गरौँ, स्थानीय उत्पादन बढाऔँ, स्वस्थ परिवार, समृद्ध किसान र दिगो समाज बनाऔँ” भन्ने मूल नाराका साथ तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ७, हर्षापुरमा ‘स्थानीय कृषि प्रदर्शनी तथा खाद्य मेला २०८३’ भव्यताका साथ सम्पन्न भएको छ।
जलवायु उत्थानशील कृषक समूह (हर्षापुर क्षेत्र), जलवायु उत्थानशील कृषक समूह (कुर्लेचौर) तथा महिला उद्यमी समूह (म्याग्दे) को संयुक्त आयोजनामा मेला सञ्चालन गरिएको हो। म्याग्दे गाउँपालिकाको समन्वय तथा डिब डेनमार्क र चिल्ड्रेन नेपालद्वारा सञ्चालित ‘जलवायु उत्थानशील समाज विकास परियोजना’ को सहयोगमा आयोजित मेलाको अध्यक्षता जलवायु उत्थानशील कृषक समूहका अध्यक्ष चन्द्र बहादुर मल्लले गरेका थिए ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यसैगरी विशेष अतिथिहरूमा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, चिल्ड्रेन नेपालका अध्यक्ष शान्त पौडेल र चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो।
मेलामा स्थानीय स्तरमा उत्पादित कृषि उपज, विभिन्न रैथाने खाद्य परिकार तथा कृषकहरूका नवीनतम गतिविधिहरू प्रदर्शन गरिएको थियो। स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने, जलवायु-मैत्री कृषि अभ्यासको विस्तार गर्ने र किसानहरूलाई व्यावसायिक उद्यमशीलतासँग जोड्ने मुख्य उद्देश्यका साथ मेला आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका वक्ताहरूले जलवायु परिवर्तनको वर्तमान समयमा अनुकूलित खेती प्रणाली अपनाउनुपर्नेमा जोड दिँदै स्थानीय कृषकहरूको प्रयासको सराहना गरे । साथै, गाउँपालिकाका तर्फबाट कृषि क्षेत्रको विकास, उत्पादन वृद्धि र बजारीकरणका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको थियो।