मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि ८ वटा पोखरी निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि ८ वटा पोखरी निर्माण

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८३, आईतवार

    तनहुँ १८ असाेज। मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वनमा रहेका वन्यजन्तुलाई पानी पिउन सहयोग होस् भन्ने उद्धेश्यसहित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा जिल्लाका आठ सामुदायिक वनमा पोखरी निर्माण गरेको हो ।

    वनमा पानीको स्रोत मासिदै गएपछि घरछेउ पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियानलाई अगाडी बढाउँदै आएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।

    रानाभाटका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा चितुवाको आतङ्क बढ्नुको एउटा कारण जङ्गलभित्र पानीको स्रोतको अभाव पनि हो । प्राकृतिक पानीका स्रोत सुक्दै गएपछि वन्यजन्तु पानी खोज्दै बस्ती पस्ने र त्यस क्रममा मानिस तथा पशुधनमाथि आक्रमणका घटना हुने गरेका छन् ।

    रानाभाटका अनुसार ऋषिङ गाउँपालिका–६ स्थित ज्वालादेवी सामुदायिक वन, व्यास नगरपालिका–६ स्थित सपनकोट सामुदायिक वन, शुक्लागण्डकी नगरपालिका–१० स्थित मलागिरी सामुदायिक वन, भानु नगरपालिका–१० स्थित कवाचित सामुदायिक वन, बन्दीपुर गाउँपालिका–२ स्थित पार्चे सामुदायिक वन, व्यास नगरपालिका–११ स्थित सिद्धबराह सामुदायिक वन, भिमाद नगरपालिका–२ स्थित शेरा सामुदायिक वन र म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा पोखरी निर्माण गरिएको छ ।

    रानाभाटले भने, “तनहुँमा केही वर्ष यता चितुवाको बढी आतङ्क छ, जङ्गलमा पानीको स्रोत मासिदै गयो, चितुवा पानी खोज्दै बस्ती पस्न थाले । त्यसैलाई मध्यनजर गर्दै कार्यालयले सामुदायिक वनमा पोखरी निर्माण गर्ने अभियानलाई निरन्तरता दिएको छ ।”

    पोखरी निर्माणका लागि कार्यालयले सम्बन्धित वन उपभोक्ता समितिलाई रु एक लाख सहयोग गर्ने गरेको छ । वन कार्यालयले थालेको यो अभियानलाई कतिपय स्थानीय तहले पनि अग्रसरता लिएर आफैले पोखरी निर्माण गर्न थालेका छन् । प्रत्येक सामुदायिक वनभित्र पोखरी भइदिए वन्यजन्तु जङ्गलमै बस्ने र बस्तीसम्म आउने सम्भावना कम हुने कार्यालयले जनाएको छ ।

    वन क्षेत्रमा पर्याप्त पानीको स्रोत उपलब्ध गराउन सके वन्यजन्तुलाई पानीका लागि बस्ती पस्नुपर्ने अवस्था कम हुने वन कार्यालयको विश्वास छ । विशेषगरी चितुवा, हरिण, बाँदर, बँदेललगायतका वन्यजन्तुले जङ्गलभित्रै पानी पाउने अवस्था सिर्जना भएमा मानव बस्ती र वन्यजन्तुको प्रत्यक्ष सम्पर्क घटाउन सकिने कार्यालयले जनाएको छ ।