जब घुमाउने झोलुङ्गे पुलबाट ट्रान्सफर्मर बोकेर लगियो …
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    जब घुमाउने झोलुङ्गे पुलबाट ट्रान्सफर्मर बोकेर लगियो …

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८३, सोमबार

    तनहुँ, १९ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ प्यूघरमा जलेर बिग्रिएको ट्रान्सफर्मर परिवर्तन गरी विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ । तर, नयाँ ट्रान्सफर्मर सम्बन्धित स्थानसम्म पु¥याउन स्थानीयवासी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले झोलुङ्गे पुलको सहारा लिनुपरेको छ ।

    नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार केही दिनअगाडी प्यूघरमा रहेको ट्रान्सफर्मर जलेपछि विद्युत् आपूर्ति प्रभावित भएको थियो । पुरानो ट्रान्सफर्मर हटाएर नयाँ ट्रान्सफर्मर जडान गरिएपछि अहिले विद्युत् सेवा नियमित भएको छ ।

    भरतपुर वितरण केन्द्रका सूचना अधिकारी विनोद ढकालका अनुसार नयाँ ट्रान्सफर्मर प्यूघर पुर्याउन स्थानीयवासीले त्रिशूली नदीमाथि रहेको झोलुङ्गे पुलबाट बोकेर तार्न सहयोग गरेका थिए । पुल तारिसकेपछि ट्रान्सफर्मरलाई गाडीमार्फत सम्बन्धित स्थानसम्म पुर्याएर जडान गरिएको ढकालले बताए ।

    ट्रान्सफर्मर परिवर्तन भएपछि प्यूघरका ६२ घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालन भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि प्रभावित स्थानीयवासीलाई समेत नयाँ ट्रान्सफर्मर जडानसँगै राहत मिलेको छ ।

    प्यूघरमा ट्रान्सफर्मर लैजानुपर्ने अवस्था आउँदा त्यहाँको पूर्वाधारको समस्या पनि पुनः सतहमा आएको छ । घुमाउनेमा निर्माणाधीन पक्की पुल अलपत्र अवस्थामा रहेकाले सवारीसाधनमार्फत सहज रूपमा विद्युतीय उपकरण तथा अन्य सामग्री ओसारपसार गर्न कठिनाइ हुँदै आएको छ ।

    पक्की पुल निर्माण सम्पन्न भएको भए ठूला तथा अत्यावश्यक सामग्री सवारीसाधनबाटै सम्बन्धित स्थानसम्म पु¥याउन सहज हुने थियो । तर पुल निर्माण अलपत्र हुँदा स्थानीयवासीले अहिले पनि झोलुङ्गे पुलबाट सामग्री बोकेर नदी पार गर्नुपर्ने बाध्यता रहेको छ । नयाँ ट्रान्सफर्मर पनि यही समस्याका कारण झोलुङ्गे पुलबाट स्थानीयको सहयोगमा बोकेर तार्नुपरेको ढकालले बताउनुभयो ।

    स्थानीयका अनुसार विद्युत् सेवा, खाद्यान्न, निर्माण सामग्रीलगायत दैनिक आवश्यकताका सामान ओसारपसारमा समेत सडक तथा पुलको अवस्थाले समस्या पार्दै आएको छ । विशेषगरी आपत्कालीन अवस्थामा आवश्यक पर्ने भारी सामग्री लैजान झोलुङ्गे पुलबाट मानिसकै भर पर्नुपर्ने अवस्था रहेको छ ।