व्यास नगरपालिकाको विपद् व्यवस्थापन समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाको विपद् व्यवस्थापन समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८३, शुक्रबार

    तनहुँ, २३ असोज । तनहुँको व्यास नगरपालिकाले हालैको भारी तथा अति भारी वर्षाका कारण नगरका विभिन्न स्थानमा भएका विपद्जन्य घटनाको स्थलगत निरीक्षण गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ।

    नगर कार्यपालिकाको शुक्रबार बसेको २४८औँ नियमित बैठकले वर्षाका कारण भएका क्षति तथा विपद्जन्य घटनाको निरीक्षण गरी प्रतिवेदन पेस गर्ने निर्णय गरेको हो। कार्यवाहक नगर प्रमुख इन्दिरा दरैको अध्यक्षतामा बसेको बैठकले विपद्का घटनाको अवस्थाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्नुपर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

    बैठकले समता विद्यालय छात्रवृत्ति कोष सञ्चालन कार्यविधि, २०८३ पारित गरेको छ। त्यस्तै, सघन सहरी विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३ र सडक मर्मतसम्बन्धी कार्यविधि, २०८३ का विषयमा पनि छलफल तथा प्रस्तुतिकरण गरिएको छ।

    बैठकमा नागरिक लगानी कोष, पोखराका कार्यालय प्रमुखसहितका कर्मचारीले नागरिक पेन्सन योजनाबारे प्रस्तुतिकरण गरेका थिए। साथै, यसअघि असोज ८ गते बसेको २४७औँ बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा गरिएको थियो।

    बैठकले नेपालीहरूको महान् चाड विजयादशमी, दीपावली, छठलगायतका पर्वका अवसरमा सम्पूर्ण नगरवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्ने निर्णयसमेत गरेको छ।

    बैठकमा प्रमुख प्रशासकीय अधिकृत, सबै वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सम्बन्धित शाखा र उपशाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।