तनहुँमा विद्यार्थीलाई विद्युत् सुरक्षासम्बन्धी सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा विद्यार्थीलाई विद्युत् सुरक्षासम्बन्धी सचेतना

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८३, शुक्रबार

    तनहुँ, २० असोज । विद्युत् दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले तनहुँका विभिन्न विद्यालयमा विद्यार्थीलाई विद्युत् सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।

    तनहुँ वितरण केन्द्रअन्तर्गत खैरेनीटार उपवितरण केन्द्रले बन्दीपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालय र शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित जनकल्याण माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरेको हो।

    असोज २२ गते पवित्रा माध्यमिक विद्यालयमा दोस्रो पटक आयोजित कार्यक्रममा विद्यार्थी तथा शिक्षकलाई सामान्यदेखि गम्भीर प्रकृतिका विद्युत् दुर्घटना, दुर्घटनाबाट बच्ने उपाय र विद्युत् प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो।

    त्यस्तै, असोज २३ गते जनकल्याण माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी तेस्रो पटक कार्यक्रम सञ्चालन गरिएको थियो। परीक्षा सकिएलगत्तै सहभागी भएका विद्यार्थीले विद्युत् सुरक्षासम्बन्धी विषयमा चासो र जिज्ञासा राखेका थिए।

    कार्यक्रममा सानो लापरबाहीले समेत विद्युत् दुर्घटना निम्त्याउन सक्ने भएकाले सुरक्षित रूपमा विद्युत् प्रयोग गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिइएको थियो।

    विद्यार्थी तथा शिक्षकबाट कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया र निरन्तरताका लागि सुझाव प्राप्त भएकाले विद्युत् सुरक्षासम्बन्धी सचेतना अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने आयोजकले जनाएको छ।