खगेन्द्र सुनारमाथि गम्भीर आरोपपछि रास्वपाको एक्सन, छानबिन नसकिँदासम्म औपचारिक कार्यक्रममा रोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    खगेन्द्र सुनारमाथि गम्भीर आरोपपछि रास्वपाको एक्सन, छानबिन नसकिँदासम्म औपचारिक कार्यक्रममा रोक

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०८३, मंगलवार

    काठमाडौ, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक श्रव्य सामग्री तथा उठेका गम्भीर प्रश्नप्रति पार्टीले चासो व्यक्त गर्दै आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ।

    सुनारमाथि महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोप सार्वजनिक भएको भन्दै रास्वपाले ती विषयलाई गम्भीर र संवेदनशील रूपमा लिएको जनाएको छ।

    पार्टीले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि जनाएको छ।

    विषयको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको रास्वपाले जनाएको छ। छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ।

    रास्वपाले राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

    ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै पार्टीले राज्यको अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चाल्ने जनाएको छ।

    आरोप लागेकै आधारमा दोषी ठहर गर्न नमिल्ने भए पनि आरोपको निष्पक्ष अनुसन्धान र जनप्रतिनिधिको जवाफदेहिता सुनिश्चित हुनुपर्ने सन्देश रास्वपाको विज्ञप्तिले दिएको छ। कानुन वा पदीय आचरणविपरीत काम गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने पार्टीको दाबी छ।