


तनहुँ, २७ असोज । नेपाली कांग्रेस तनहुँको जिल्ला सभापति पदमा बसन्त बहादुर आलेले उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गुट र प्यानलभन्दा बाहिर रहेर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका आलेले आगामी जिल्ला अधिवेशनमा पार्टीको नेतृत्व सम्हाल्ने अठोट व्यक्त गरेका हुन्।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराउन विश्वास व्यक्त गर्ने क्षेत्रीय प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै आलेले जिल्ला नेतृत्वको जिम्मेवारी लिएर सन्तुलित र सुदृढ कांग्रेस निर्माण गर्ने बताएका छन्।
कांग्रेसभित्र पछिल्लो समय संगठन निर्माणभन्दा गुटबन्दी र पद प्राप्तिको प्रवृत्ति हाबी भएको उल्लेख गर्दै उनले पार्टीलाई एकीकरण र सुदृढीकरणको खाँचो रहेको बताएका छन्। पार्टीमाथि भइरहेको मनोवैज्ञानिक तथा प्राविधिक आक्रमणलाई चुनौतीका रूपमा व्याख्या गर्दै आलेले वैचारिक रूपमा पार्टीलाई बलियो बनाउन आफू सक्रिय हुने बताएका छन्।
सशस्त्र द्वन्द्वकालमा नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघजस्ता भ्रातृ संस्थाका लागि ढाल बनेर उभिएको स्मरण गर्दै उनले अहिले पनि पार्टीको विचार र संगठनको रक्षाका लागि सिपाहीका रूपमा उभिएको उल्लेख गरेका छन्।
आफ्नो उम्मेदवारी कुनै गुटको स्वार्थका लागि नभई समग्र पार्टीको हितका लागि भएको उनको भनाइ छ। चाकरी र चाप्लुसीको अन्त्य गर्दै इमानदार, योग्य र क्षमतावान् कार्यकर्ताको उचित मूल्यांकन हुने परिपाटी स्थापित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको उनले बताएका छन्।
पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने तथा संगठन सुदृढ भएपछि नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने संकल्पसमेत उनले व्यक्त गरेका छन्।
अन्य युवा नेताहरूको क्षमताको अवमूल्यन नगरेको स्पष्ट पार्दै आलेले आफू गुट र प्यानलभन्दा बाहिर रहेकाले यसपटक आफ्नो भूमिकालाई महत्त्वपूर्ण ठानेको बताएका छन्। आफ्नो उम्मेदवारीलाई अनिवार्य दाबी नभई पार्टीका नेता तथा कार्यकर्तासामु राखिएको इमानदार प्रस्तावका रूपमा बुझ्न उनले आग्रह गरेका छन्।