तनहुँ : नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंहको सम्झना गरिएकाे छ । स्व. सिंहको २३ औं स्मृति दिवसको अवसरमा गणेशमान अध्ययन अनुसन्धान तथा पार्क स्मृति संरक्षण समितिले शुक्रबार आयाेजना गरेकाे कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा गणेशमानको योगदान अतुलनीय रहेकाेमा जाेड दिइयाे ।
कार्यक्रममा नेताहरुले स्व. सिंहको योगदानलाई सँधै सम्मान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने, गण्डकी प्रदेश सभा सदस्य सरिता गुरु, पूर्वमन्त्री अमरराज कैनी, समुन्द्र गोदार लगायतले गणेशमान सिंहको योगदानको चर्चा गर्नुभयो ।
सोही अवसरमा व्यास नगरपालिका–२ मा रहेको गणेशमान सिंहको अर्धकदको शालिकामा पुष्प अर्पण गरिएको थियो ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।
राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।