दमौली अस्पतालमा एनेस्थेसिया उपकरण जडान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पतालमा एनेस्थेसिया उपकरण जडान

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७७, शुक्रबार

    तनहुँ : तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ८ गते उपलब्ध गराएको उक्त उपकरण अस्पतालमा जडान गरिएको हो ।

    एनएसथेसिया मेसिन बिरामीलाई पूर्णतः बेहोस बनाउने मेसिन हो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने रु २० लाख बराबरको उक्त मेसिन गण्डकी प्रदेशको दमौली सहित स्याङ्जा जिल्ला अस्पताललाई पनि हस्तान्तरण गरिएको थियो । उक्त मेसिन जडान गरिएपछि विशेषतः अस्पतालमा सुत्केरी गराउने महिलालाई सहज रुपमा सेवा प्रवाह गर्न सकिने दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताउनुभयो ।

    “सुई लगाएर लठ्याउनुभन्दा मेसिन धेरै प्रभावकारी छ, सुईले लठ्याउँदा कति समयमा ब्युँझाउने भन्ने एकिन नभएपनि मेसिनले निश्चित अवधिभित्र नै बिरामीलाई ब्युँझाउन सकिन्छ,” अधिकारीले भन्नुभयो, “सुई लगाएर अप्रेशन गर्दा बिरामी बीचमै पनि ब्युँझिदिने समस्या अब मेसिन जडान गरेपछि हुँदैन ।” उक्त मेसिनले बत्ती नभएको अवस्थामा पनि दश केजी बराबरको अक्सिजन आफैले उत्पादन गर्न सक्छ ।

    व्यवस्थापन समितिले जनशक्ति, ल्याब सामग्री खरिद तथा कर्मचारी आवास कार्यक्रमका लागि निक साइमनसँग रु ५० लाख बराबरको सम्झौता समेत गरेको छ । इमर्जेन्सी कक्ष, सुत्केरी कक्ष, ल्यावका लागि आवश्यक उपकरण लगायत खरिदका लागि सम्झौता गरिएको अधिकारीले जानकारी दिनुभयो ।

    अस्पतालले निकट भविष्यमै थाइराइडको पनि उपचार शुरु गर्न लागेको छ । त्यसका लागि एक जना प्राविधिक आवश्यक पर्ने भएकाले सोको पनि निक साइमनसँग सम्झौता गरिएको छ । त्यस्तै फिजियोथेरापी सेवा शुरु गर्नका लागि एक जना चिकित्सक, फार्मेसी व्यवस्थापनका लागि बि फार्मेसीको माग गरिएको छ ।

    अस्पतालमा पछिल्लो समय विभिन्न उपकरणहरु थप गरिँदै लगिएको छ । केही समय अगाडी मात्रै सङ्घीय सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कोष मार्फत् दश शैय्याको चार वटा भेन्टिलेटर सहितको आइसियु निर्माणका लागि अस्पताललाई रु दुई करोड विनियोजन गरेको छ ।

    गण्डकी प्रदेश सरकारले पनि दमौली अस्पताललाई चालु आर्थिक वर्षमै रु एक करोड ६९ लाख बजेट उपलब्ध गराएको छ । सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटले भेन्टिलेटर सहितको आईसियु निर्माणको प्रकृया शुरु गरिएको अधिकारीले जानकारी दिनुभयो ।

    अस्पतालमा दाँतको डिजिटल एक्सरे मेसिन र युनिर्भसल ल्याब्रोटोरी मेसिन पनि प्राप्त भएको छ । उक्त मेसिन मार्फत् बढीमा सात मिनेटमा ल्याव परीक्षणको रिपोर्ट प्राप्त गर्न सकिनेछ । गत आर्थिक वर्षमा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि प्राप्त भएको रु ५० लाख भने खर्च हुन नसकेको अधिकारीले बताउनुभयो । “आइसियु र भेन्टिलेटर कक्षको लागि अक्सिजन प्लान्ट अनिवार्य भए पनि गत वर्ष मूल्याङ्कन प्रतिवेदन तयार गर्न नसकिएको कारण उक्त रकम फिर्ता भयो,” अधिकारीले भन्नुभयो ।

    १५ शैय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ ।

    अस्पतालमा मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको र ५० शैय्याको अस्पताल बनाउन कम्तिमा ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । अध्यक्ष अधिकारीले अस्पताल स्तरोन्नति गर्न सकिए विशेषज्ञ सहितको सेवा दिन सकिने बताउनुभयो ।

    अस्पतालबाट हाल ४२ शैय्यामा सेवा प्रवाह भइरहेको छ । अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसुतिरोगका विशेषज्ञ डाक्टरको दरवन्दी थप हुनेछ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवा समेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ सालमा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।