तनहुँ : यहाँको एक वडाले चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट सार्वजनिक गरेको छ । तनहुँको भीमाद नगरपालिका–९ ले शुक्रबार वडा कार्यालयमा जनप्रतिनिधि र टोल विकास समितिका प्रतिनिधिको उपस्थितिमा बजेट सार्वजनिक गरेको हो ।
वडामा सञ्चालन हुने योजनाका लागि नगरपालिका र प्रदेशबाट प्राप्त बजेट सार्वजनिक गरेको वडाध्यक्ष ईमानबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार वडामा ३ करोड ६८ लाख ५० हजार रुपैयाँको कार्यक्रम यो वर्ष सञ्चालन हुनेछ ।
नगरपालिकाबाट प्राप्त बजेटमा सबैभन्दा धेरै आर्थिक विकास कार्यक्रममा ५१ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस अन्तर्गत कृषिमा लोकल कुखुरा पकेट क्षेत्र प्रोत्साहन, खरी बाख्रा संरक्षण, बंगुरपालन, मौरी प्रर्वद्धन, कोदो मकै वालीलाई संरक्षण कार्यक्रमलाई प्राथमिकता दिईएको छ । पूर्वाधार विकासमा ४६ लाख रुपैयाँ, सामाजिक विकासतर्फ, ४९ लाख रुपैयाँ, आर्थिक विकासमा ५१ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश सरकारबाट प्राप्त २ करोड २२ लाख रुपैयाँ बरपखरी पाथर्दी सडकका लागि ५० लाख रुपैयाँ, सखेप जौपानी खानेपानी आयोजनामा ६० लाख रुपैयाँ, अस्पाङ्दी भाटडाँडा खानेपानी आयोजनालाई १२ लाख रुपैयाँ, भट्टबारी छहरा सिंचाई भानुमतीलाई ५० लाख रुपैयाँ र चिहानडाँडा मोहोरिया सिद्धगुफा योजनालाई क्रमागत बजेटबाट ५० लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।