तनहुँ : तनहुँको व्यास नगरपालिका–१० वैरेनी निवासी दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले आइतबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार २१ र १२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
चार दिन अगाडी शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रबाट स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा उनीहरुमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुने दिदी बहिनी रहेको खुलेको छ । स्वास्थ्य निर्देशनालयले दुवै जना जिपी कोइराला उपचार केन्द्रमा उपचाररत भनेपनि उनीहरु अस्पतालमा भर्ना भएर बसेका बिरामी होइनन् ।
दुवै जनालाई ज्वरो आएपछि उपचारका लागि जिपी कोइराला उपचार केन्द्र पुगेका थिए । “कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले दुवै जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएकामा दुवै जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ,” केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले भन्नुभयो, “स्वाब लिएपछि घरबाट ननिस्कन सचेत गराउँदै दुवै जनालाई घर पठाएका थियौ ।”
डा. श्रेष्ठका अनुसार ज्वरो आएर उपचार केन्द्र जानु अगाडी दिदीबहिनीले कुनै मेडिकल पसलबाट औषधि समेत खरिद गरेर प्रयोग गरेका थिए ।
व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले सङ्क्रमितको विवरण आएकाले उनीहरुलाई आइसोलेशनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।