तनहुँ : चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा.गोविन्द केसीको समर्थनमा युथ कांग्रेस नेपाल तनहुँले ज्ञापनपत्र बुझाएको छ । १९ औँ पटक अनसनरत केसीसँग गरिएको सम्झौता पूरा गर्दै उहाँको जीवनरक्षाको मागसहित आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई युथ कांग्रेस नेपाल तनहुँका अध्यक्ष राजेशकुमार श्रेष्ठले ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउनुभयो । डा. केसीले उठाएको माग तत्काल पूरा गर्दै राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, वाइड बडी, बालुवाटार काण्ड लगायत पछिल्ला समयका चर्चित काण्ड छानविन गरी दोषीमाथी कारबाही गर्न ज्ञानपत्रमार्फत माग गरिएको छ ।