प्रदेश सरकारको सहयोगमा कालोपत्रे शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रदेश सरकारको सहयोगमा कालोपत्रे शुरु

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, मंगलवार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाको डुम्रेदेखि बुद्धसिंह मार्गको घुमाउने जोड्ने थारुवास–ढाडखोलाको सडक कालोपत्रे शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर गाउँपालिका–२ स्थित थारुबासमा सडक कालोपत्रे शुरु गरिएको हो ।

    प्रदेश सरकारको रु ५० लाखको सहयोगमा ६ सय मिटर सडक कालोपत्रे शुरु गरिएको हो भने नाला निर्माण सम्पन्न भइसकेको बन्दीपुर ढाडखोला मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष सुदिन पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार एक साताभित्र कालोपत्रे निर्माण सम्पन्न हुनेछ ।

    “नाला निर्माण सम्पन्न गरेर सडक कालोपत्रे शुरु गरेका छौ, बढीमा एक साताभित्र सबै काम सम्पन्न हुन्छ,” पौडेलले भन्नुभयो, “गुणस्तरीय काम सम्पन्न गराउनका लागि उपभोक्ता समितिले निरन्तर निगरानी गरिरहेको छ ।” सडक कालोपत्रे नहुँदा वर्षामा हिलो र हिउँदमा धुलोको समस्या रहँदै आएको छ । सडक कालोपत्रे भएपछि सर्वसाधारणलाई पनि सहज हुने पौडेलले बताउनुभयो ।

    ६ सय मिटर कालोपत्रे सम्पन्न भएलगत्तै सोही खण्डमा थप १ हजार ५ सय मिटर सडक कालोपत्रेको काम शुरु गरिनेछ । त्यसका लागि टेण्डर प्रकृया सम्पन्न भइसकेको र सडक कालोपत्रेको ठेक्का दमौलीस्थित डायमन्ड कन्स्ट्रक्सन प्रालिले पाएको छ । सङ्घीय सरकारमार्फत् विनियोजित रु एक करोड ७० लाखको लागतमा उक्त खण्ड कालोपत्रे गरिनेछ ।

    सोही खण्डमा केही समय अगाडी मात्रै रु दुई करोडको लागतमा नयाँ ट्रयाक खोलिएको छ । उक्त खण्डमा रहेको पहाड फोरेर तीन किमि नयाँ ट्रयाक खोलिएको पौडेलले जानकारी दिनुभयो । “पहरा भएको ठाउँ फोरेर नयाँ ट्रयाक बनाइसकेका छौ, त्यस खण्डमा पनि निकट भविष्यमै सडक कालोपत्रे गरिने र घुमाउनेसम्मकै सडक कालोपत्रे गर्ने योजना छ,” पौडेलले भन्नुभयो, “त्यसपछि यहाँका जनातालाई आवतजावतमा सहज हुन्छ ।”

    बन्दीपुरको डुम्रेदेखि घुमाउनेसम्म सडक कालोपत्रे भएपछि तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्लाका बासिन्दालाई नारायणगढ जान सहज हुन्छ । “घुमाउनेमा पक्की पुल बन्दैछ, उक्त पुल सम्पन्न भएपछि नारायणगढ जानका लागि पृथ्वीराजमार्ग हुँदै जान पर्दैन,” उहाँले भन्नुभयो, “यही सडकखण्ड हुँदै जान सकिन्छ, दूरी पनि छोटो पर्छ ।” उहाँका अनुसार यस सडकखण्ड कालोपत्रेका लागि सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठ र गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानको विशेष पहल रहेको छ ।

    सोही खण्डमा यस अगाडी नै बन्दीपुर गाउँपालिकाको बजेटमा एक हजार दुई सय ७० मिटर सडक कालोपत्रे भइसकेको छ ।