लोकतन्त्र सुदृढ तुल्याउन पत्रकार आचारसंहिता पूर्ण पालना हुनुपर्छ : राष्ट्रपति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लोकतन्त्र सुदृढ तुल्याउन पत्रकार आचारसंहिता पूर्ण पालना हुनुपर्छ : राष्ट्रपति

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, मंगलवार

    काठमाडौ: राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उहाँले आमसञ्चारमाध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रपति भण्डारीले ‘राज्यको चौथो अङ्ग’ पत्रकारिता लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकविना लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताउनुभयो । उहाँले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका अपरिहार्य तत्व रहेको बताउँदै भन्नुभयो, “लोकतन्त्रको निरन्तर अभ्यासको क्रममा आमसञ्चारको क्षेत्रमा देखिएका कतिपय कमीकमजोरी क्रमशः हट्दै जानेछन् भन्ने आशा गरेको छु, सबै पत्रकारले पत्रकार आचारसंहिता पालना गर्ने अपेक्षा लिएको छु ।”

    पत्रकार आचारसंहिताको पूर्ण पालनाका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी तथ्यहीन र झुटा समाचार एवं भ्रामक विचार कतिपय सञ्चारमाध्यममा प्रकाशित र प्रसारित भइरहेको छ”, उहाँले भन्नुभयो, “सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुटा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनेको छ । नेपालको सन्दर्भमा यस चुनौतीको सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ ।”