एकै परिवारका चार सहित तनहुँमा ११ सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एकै परिवारका चार सहित तनहुँमा ११ सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँका चार पालिकामा ११ कोरोना सङ्क्रमित थपिएका छन् । व्यास नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका ६ पुरुष र ५ महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिकामा ५, भानु नगरपालिकामा २, आँबुखैरेनी गाउँपालिकामा तीन र देवघाट गाउँपालिकामा एक जना सङ्क्रमित थपिएका छन् ।

    व्यास नगरपालिका–३ का २३, व्यास नगरपालिका–१० का ४८ वर्षीय पुरुष र ५ वर्षीय बालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १८ र ४१ वर्षीया महिलामा पनि सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमितमध्ये व्यास नगरपालिका–१० का ४८ वर्षीय पुरुष विद्युत प्राधिकरण दमौलीका कर्मचारी हुन् ।

    व्यास नगरपालिका–१० का सङ्क्रमित एकै परिवारका सदस्य हुन् भने ५ वर्षीय बालक आफन्तका छोरा हुन् । व्यास नगरपालिका–३ का युवा भने विदेशबाट आएका हुन् । गत असोज ४ गते व्यास नगरपालिका–१० का २१ र १२ वर्षीया दिदीबहिनीमा कोरोना सङ्क्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङबाट स्वाब परीक्षण गरिएकामा उनीहरुको परिवारका सदस्यलाई पनि सङ्क्रमण पुष्टि भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।

    भानु नगरपालिका–२ का २८ र भानु नगरपालिका–५ का ३६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । आँबुखैरेनी गाउँपालिका–३ का ३३ वर्षीया महिला, ८ वर्षीया बालिका, आँबुखैरेनी गाउँपालिका–२ का ५९ वर्षीया महिला र देवघाट गाउँपालिका–५ का २३ वर्षीया पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

    विद्युतका कर्मचारी एक सातादेखि कार्यालय नआएको र उनी काम गर्ने युनिटका सबै कर्मचारीको रिपोर्ट नेगेटिभ आएको विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख कपिल पाण्डेले जानकारी दिनुभयो ।

    बुधबार बिहान मात्रै व्यास नगरपालिका र भीमाद नगरपालिकामा चार जनामा कोरोना पुष्टि भएको थियो । यसैगरी गण्डकी प्रदेशको कास्कीमा ५, स्याङ्जामा ३, बागलुङमा ८ र पर्वतमा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ३ हजार ५ सय ७९ पुगेको छ ।