धेरै विद्यार्थी भएकाे विद्यालयमा तीन सिफ्टमा कक्षा सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धेरै विद्यार्थी भएकाे विद्यालयमा तीन सिफ्टमा कक्षा सञ्चालन

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा असोज ११ गतेदेखि पठनपाठन शुरु हुने भएको छ । व्यास नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन सञ्चालन गर्न अनुमति दिएको हो ।

    बुधबार बसेको नगरकार्यपालिकाको बैठकले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ पारित गर्दै नगरपालिकाबाट जारी गरिएको निर्देशिका बमोजिम विद्यालय सञ्चालन गरेर पठनपाठन गराउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

    नगरपालिकाले शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीको संयोजकत्वमा वैकल्पिक शिक्षा प्रणालीलाई व्यवस्थित एवं मर्यादित बनाउनका लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक सदस्य रहेको एक समिति गठन गरेको थियो । सोही समितिको सुझावका आधारमा नगरपालिकाले विद्यालय सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको हो ।

    नगरपालिकाको निर्णय बमोजिम धेरै विद्यार्थी भएको ठाउँमा तीन सिफ्टमा कक्षा सञ्चालन गरिनेछ । शिक्षा शाखा प्रमुख रेग्मीले धेरै विद्यार्थी भएको ठाउँमा बिहान, दिउँसो र साँझ गरी तीन समयमा कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । थोरै विद्यार्थी भएको ठाउँमा भने बढीमा २५ जना विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “कोरोनाको जोखिम कायमै रहेकाले सबै सुरक्षा अपनाएर कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ,” रेग्मीले भन्नुभयो, “विद्यार्थी सङ्ख्या धेरै भएका ठाउँमा तीन समय कक्षा सञ्चालन हुनेछ ।”