शिशाघाटमा नयाँ शहरको अवधारणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिशाघाटमा नयाँ शहरको अवधारणा

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले वडा नं ६ को शिशाघाटमा नयाँ शहरको अवधारणा ल्याएको छ । बुधबार बसेको नगरकार्यपालिकाको बैठकले शिशाघाट क्षेत्रलाई नयाँ शहरको रुपमा विकास गर्ने निर्णय गरेको हो ।

    नगरपालिकाको पारस्परिक कोष समेत नगर विकास कोषको अनुदानमा सहयोगमा शिशाघाटमा नयाँ शहरको अवधारणा ल्याइएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । त्यसका लागि प्रस्ताव तयार गरी नगर विकास कोषमा स्वीकृतीका लागि पठाउने निर्णय भएको छ ।

    बैठकले कृषि तथा पशुपंक्षी व्यवसायमा आबद्ध कृषकहरुले कृषि प्रयोजनको लागि निर्माण गर्ने अस्थायी संरचना करको दायरामा नआएकाले कृषि तथा पशुपंक्षी व्यवसायमा आबद्ध कृषकलाई समेत करको दायरामा ल्याउने निर्णय गरेको छ । नगरपालिकाका शाखा अधिकृत एवं प्रवक्ता मेघनाथ आचार्यका अनुसार त्यस्ता संरचना निर्माण गर्दा भौतिक संरचनामा प्रति वर्गफिट रु एक सयका दरले नक्सापास दस्तुर लिने निर्णय भएको छ ।

    साथै नगरपालिकाको कार्यालय परिसरको उत्तरतर्फ नगर विकास कोषको सरल ऋण तथा अनुदान एवं नगरपालिकाको पारस्परिक कोषको संयुक्त लगानीमा प्रस्ताव गरिएको बहुउद्देश्यीय भवन निर्माणका लागि नगर विकास कोषसँग सम्झौता गर्ने निर्णय बैठकले गरेको छ ।

    बैठकले नगरपालिकालाई आवश्यक पर्ने विभिन्न ऐनहरुको मस्यौदा तयार गरी नगर कार्यपालिकाका पेश गर्न विधायन समितिलाई निर्देशन दिनुका साथै बाल अधिकार संरक्षण तथा सम्बद्र्धन सम्बन्धी कार्यसञ्चालन कार्यविधि पारित गरेको छ ।

    मादीनदीको प्राकृतिक साधन उपयोग कर असुलीका लागि कार्यालयले खोलेका विभिन्न घाटहरुबाट हुने कर असुली प्रकृयालाई थप कडाईका साथ पारदर्शी एवं व्यवस्थित गराउनका लागि आवश्यक व्यवस्था मिलाउनुका साथै घाटहरुमा बस्ने कर्मचारीको लागि आवश्यक अस्थायी बिट तत्कालै निर्माण गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।