ऋषिङकाे दधिवनमा बत्ती बल्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङकाे दधिवनमा बत्ती बल्याे

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०७७, सोमबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–७ स्थित दधिवन गाउँमा बिद्युत सेवा विस्तार भएको छ । गाउँपालिकाको विकट बस्तीको रुपमा रहेको दधिवनमा पहिलो पटक बत्ती बलेपछि स्थानीयवासी खुशी भएका छन् ।

    दधिवनको ५६ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनबाट बिजुली विस्तार गरिएको वडाध्यक्ष जङ्वीर आलेले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको करिब रु दश लाखको लागतमा दधिवनमा विद्युतीकरण गरिएको हो । “अहिलेसम्म टुकी, मैनबत्ती र सोलारको भरमा बत्ती बाल्दै आएका स्थानीयवासी घरमा बिजुली आएपछि हर्षित भएका छन्,” आलेले भन्नुभयो । उहाँका अनुसार केही घरधुरीमा मात्रै सोलार थियो । बाँकी घर टुक र मैनबत्तीमै भर पर्नुपथ्र्यो । छरिएर रहेको बस्ती भएका कारण विद्युतीकरणमा समय लागेको उहाँले जानकारी दिनुभयो ।

    ऋषिङ गाउँपालिका–७ को ४५ घरधुरीमा अझैपनि बिजुली पुगेको छैन । ती घरधुरीमा पनि चालु आर्थिक वर्षभित्रै बत्ती बाल्ने लक्ष्य रहेको छ । “बाँकी घरधुरीमा बत्ती बाल्न कामहरु भइरहेका छन्, यही आर्थिक वर्षभित्रै सकिन्छ,” उहाँले भन्नुभयो । उहाँले गाउँपालिकामा जनप्रतिनिधि आइसकेपछि यस वडाको दुई सय भन्दा बढी घरधुरीमा बिजुली बलिसकेको छ । उहाँका अनुसार उक्त वडाको कान्छे, दधिवन, ज्यामिरे, चुडाहर लगायतका गाउँमा बत्ती पुगेको छ ।

    विद्युतीकरणको साेमबार उद्घाटन गर्दै संविधानसभा सदस्य झुलबहादुर आलेले विद्युत विस्तारपछि अब जनताको जीवनस्तर फेरिने बताउनुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले चुनावमा गरिएको प्रतिबद्धता बमोजिम दधिवनमा बत्ती बाल्न सकिएको बताउनुभयो । “चुनावमा जाँदै गर्दा बत्ती नपुगेका गाउँमा बत्ती बाल्छौ भनेका थियौ, केही समय ढिलाई भयो तर आज उक्त प्रतिबद्धता पूरा भएको छ,” उहाँले भन्नुभयो ।