कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस् (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस् (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    १३ माघ २०७७, बुधबार

    तनहुँ : जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलो पटक कोरोना विरुद्धको खोप लगाउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप लगाउँदै गर्दा चौधरीलाई मनमा केही डर पनि थियो । तर जब उहाँले खोप लगाउनुभयो त्यसपछि भने उहाँ ढुक्क हुनुभयो ।

    “खोप लगाउनु दश मिनेट अगाडी पनि त्रासकै अवस्था थियो, मलाई पनि केही हुन्छ की भन्ने डर थियो, तर खोप लगाइसकेपछि भने सबै डर हरायो,” चौधरीले भन्नुभयो, “खोप लगाएको पनि थाहा भएन, दुख्दा पनि दुखेन ।” चौधरीले खोप सुरक्षित रहेकाले प्राथमिकतामा परेका सबै स्वास्थ्यकर्मीलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो । “केही असर देखिने भए खोप लगाएको केही मिनेटमै देखिन्छ, मलाई केही भएन,” उहाँले भन्नुभयो ।

    https://youtube.com/watch?v=S-0T1YQZ9hI

    म्याग्दे गाउँपालिकाका स्वास्थ्यकर्मी पार्वती श्रेष्ठले महिला तर्फबाट पहिलो खोप लगाउनुभयो । उहाँले पनि सबै स्वास्थ्यकर्मीलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्नुभयो ।

    जिल्ला स्वास्थ्य कार्यालय तनहुँले बुधबारदेखि दमौलीमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो खोप लगाएका स्वास्थ्यकर्मीलाई चार हप्तापछि पुनः खोप दिइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार १८ वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप लगाइन्छ । “खोप लगाएकाहरुलाई केही असर नदेखिएकाले यो खोप प्रभावकारी छ भन्ने हामीले ठहर गरेका छौ,” अधिकारीले भन्नुभयो, “सबै स्वास्थ्यकर्मीलाई उर्जा प्राप्त भएको छ ।”

    जिल्ला स्वास्थ्य कार्यालय तनहुँले माघ १९ गतेसम्म जिल्लाका १ हजार ६ सय ७९ स्वास्थ्यकर्मीलाई खोप लगाउँदैछ । खोप लगाउनका लागि दमौलीमा तीन वटा खोप केन्द्र तोकिएको छ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १४ र १५ गते, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका र घिरिङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १६ र १७ गते, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाका र देवघाट गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १८ र १९ गते खोप लगाइँदैछ ।

    अधिकारीका अनुसार व्यास नगरपालिकाका ५ सय ५८, म्याग्दे गाउँपालिकाका ८२, ऋषिङ गाउँपालिकाका ९८, शुक्लागण्डकी नगरपािलकाका २ सय ६७, भीमाद नगरपालिकाका १ सय ७७, घिरिङ गाउँपालिकाका ६१, भानु नगरपालिकाका १ सय ७१, आँबुखैरेनी गाउँपालिकाका ७३, बन्दीपुर गाउँपालिकाका १ सय ५ र देवघाट गाउँपालिकाका ८७ जनालाई खोप लगाइँदैछ । स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीका अनुसार सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी लगायतलाई यो खोप लगाइँदैछ ।

    प्रदेश सरकारले मङ्गलबार मात्रै तनहुँलाई १ सय ८९ भायल खोप उपलब्ध गराएको थियो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले खोप लगाएकालाई ३० मिनेट चिकित्सकको निगरानीमा राखिने र केही असर देखिए तत्कालै उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।