तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. रामशरण महतले शहीदको सपना पूरा गर्न लोकतन्त्रको स्थिर विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले शहीद दिवसको अवसरमा शुक्रबार व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजना गरेको चौथो अल्ट्रा म्याराथनको उद्घाटन गर्दै पूर्वमन्त्री डा. महतले लोकतन्त्रको दिगो ढङ्गले विकास गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।
“लोकतन्त्रको विकासका लागि शहीदले ठूलो योगदान दिएका छन्, ज्यानको आहूति दिएका छन् । शहीदहरुलाई सम्मान गर्नुपर्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि राजनीतिक, सामाजिक, आर्थिक अधिकारलाई सुनिश्चित गर्नुपर्छ ।” राजनीतिक विकासको साथसाथै आर्थिक समुन्नतिको आवश्यक रहेकाले त्यसतर्फ सबैको ध्यान हुनुपर्नेमा डा. महतले जोड दिनुभयो ।
पूर्वमन्त्री डा. महतले लोकतन्त्रलाई ठीक ढङ्गबाट अगाडी बढाउन विधिको शासन आवश्यक रहेको बताउँदै प्रतिबद्धता मात्र नभई कार्यान्वयन हुनुपर्ने बताउनुभयो । संसद विघटनको प्रकृया विधिपूर्वक नभएकाले अदालतले त्यस विषयमा निष्पक्ष फैसला सुनाउने विश्वास व्यक्त गर्नुभयो । पूर्वमन्त्री डा. महतले मानुङकोट भौगोलिक हिसाबले अत्यन्त सुन्दर ठाउँ भएकाले पर्यटनको केन्द्रविन्दुको रुपमा विकसित भइरहेको बताउनुभयो ।
खेलकुदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित नगरपालिकाले म्याराथनको आयोजना गरेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । मगरको गाउँ मानुङ र गुरुङको गाउँ पुलिमराङलाई खेलको माध्यमबाट जोड्न नगरपालिकाले तीन वर्ष अगाडीदेखि म्याराथन गर्दै आएको बताउँदै न्यौपानेले भन्नुभयो, “मानुङ आज विश्वमाझ परिचित हुन सफल भएको छ, यसको देन म्याराथन पनि हो ।”
४४ किमि दूरीको अल्ट्रा म्याराथनमा एक सय ८० धावक सहभागी छन् । म्याराथनमा तनहुँका अतिरिक्त गोरखा, कास्की, लमजुङ, स्याङ्जा, सिन्धुली, बागलुङ, रुकुम, सोलुखुम्बु, गोरखा, पर्वत, काठमाडौ, धादिङ, म्याग्दी लगायतका जिल्लाबाट धावक सहभागी रहेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँच जनाले रु १६ हजार ७७ नगद पुरस्कार पाउनेछन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशी वृद्धि गरेको हो । प्रथम, द्वितीय र तृतीय पुरस्कार राशीमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए ।
धावकले नियम पालना गरे नगरेको चेकजाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिएको छ । व्यास नगरपालिका–४ व्यास रेन्ज पोष्ट, व्यास नगरपालिका–१० पिजनहिल खहरे, व्यास नगरपालिका–७ पाथ्रा मन्दिर, व्यास नगरपालिका–७ पातल सत्रसय, व्यास नगरपालिका–८ रिस्ती सोतीवेशी, व्यास नगरपालिका–८ सुनपोखरी, व्यास नगरपालिका–८ गाडापानी र व्यास नगरपालिका–८ पुलिमराङमा चेकविन्दु स्थापना गरिएको छ ।
म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जित्नुभएको थियो । उहाँले ४४ किमि दूरी दुई घण्टा ५९ मिनेटमा पार गर्नुभएको थियो । प्रतियोगितामा कालिकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय हुनुभएको थियो ।