भीमाद र घिरिङमा पक्की पुल निर्माण शुरु, मन्त्री गुरुङद्वारा शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भीमाद र घिरिङमा पक्की पुल निर्माण शुरु, मन्त्री गुरुङद्वारा शिलान्यास

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७७, सोमबार

    तनहुँ : तनहुँको भीमाद नगरपालिका–५ ऋषिङपाटन र ऋषिङ गाउँपालिका–८ पल्ट्याङ जोड्ने फेदीखोला तथा घिरिङ गाउँपालिका–४ शालिग्राम करिडोरस्थित तिरन्दीखोलामा पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा दुवै स्थानमा पक्की पुल निर्माण शुरु भएको हो । दुवै पुलको आइतबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गर्नुभएको छ ।

    भौतिक पूर्वाधार विकास मन्त्रालयको रु तीन करोड ५८ लाख ३१ हजार नौ सय ८० को लागतमा फेदीखोलामा पुल निर्माण शुरु भएको हो । पुल निर्माणका लागि विसं २०७७ असार २६ गते चितवनस्थित केबिसी बिल्डर्स कम्पनी प्रालिसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।

    Image may contain: 4 people, outdoor

    ढुङ्गानाका अनुसार २५ मिटर लामो पुलको चौडाई ८.४ मिटर रहनेछ । ६ मिटरमा गाडी गुड्ने र दायाँबायाँ १.४÷१.४ को पेटी निर्माण हुनेछ । उक्त पुल विसं २०७८ पुस २५ गतेसम्म सम्पन्न गर्ने म्याद छ । पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ७५ लाख विनियोजन भएको छ ।

    Image may contain: 7 people, outdoor

    निर्माण कम्पनीका प्रतिनिधि कुमार आचार्यले राज्यले तोकेको मापदण्ड र प्राविधिकले दिएको निर्देशन अनुसार समयभित्रै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “पुल निर्माण गर्ने समय आगामी वर्षको पुस अन्तिम सातासम्म भएपनि प्राविधिक कठिनाई नआए असार मसान्तभित्रै पुल निर्माण सम्पन्न गरिसक्छौ,” उहाँले भन्नुभयो ।

    यस्तै गण्डकी प्रदेश सरकारको सहयोगमा नै शालिग्राम करिडोर अन्तर्गत घिरिङ गाउँपालिका–४ नयाँटारस्थित तिरन्दीखोलामा पनि पक्की पुल निर्माण शुरु भएको छ । प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम करिडोरमा रु तीन करोड १४ लाख एक हजार दुई सय ८२ को लागतमा पुल निर्माण शुरु भएको हो । पुल निर्माणका लागि विसं २०७७ वैशाख २२ गते वाइएसएस निर्माण सेवा प्रालि सुर्खेतसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

    २५ मिटर लामो पुल विसं २०७८ भाद्र २९ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद छ । कोरोनाका कारणले पुल निर्माणमा ढिलाई भएपनि अब तीव्र गतिमा काम शुरु गरिने कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । ८.४ मिटर चौडाई रहने उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्ष ५५ लाख बजेट विनियोजन भएको छ ।

    पुलको शिलान्यास गर्दै मन्त्री गुरुङले वर्तमान सङ्घीय र प्रदेश सरकारले विकास निर्माणमा उल्लेख्य काम गरेको बताउनुभयो । उहाँले प्राथमिकतामा आधारमा योजना बनाएर विकास निर्माणका काम गरिने भएकाले स्थानीयवासीले धैर्य गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले दुवै पुलको बजेटको सुनिश्चितता भइसकेकाले समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई सचेत गराउनुभयो ।

    मन्त्री गुरुङले खानेपानी नपुगेका प्रत्येक बस्तीमा खानेपानी, पुल नभएका खोलामा पक्की पुल र बत्ती नपुगेका घरमा बत्ती बाल्न प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो । “सबै ठाउँमा एकैपटक विकास गर्न सकिदैन, प्राथमिकताका आधारमा विकास योजना सञ्चालन गरिनेछ,” मन्त्री गुरुङले भन्नुभयो ।