तनहुँ : सरकारले भूमि आयोग तनहुँको अध्यक्षमा दधिराज सुवेदीलाई नियुक्त गरेको छ । भीमाद नगरपालिका-६ निवासी सुवेदीलाई सरकारले तनहुँको अध्यक्षमा नियुक्त गरेको हो ।
आयोगको विज्ञमा व्यास-१० का दीर्घ दरै र सदस्यमा बन्दीपुरकी शान्ति कुंवर नियुक्त हुनुभएको छ । आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमवार साँझै राजपत्रमा प्रकाशित भएको छ । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्वितीय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउनेछन् ।
गत चैतमा सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । आयाेगले तनहुँका ६ स्थानीय तहका भूमिहिन दलित, भूमिहिन सकुम्बासी र अव्यवस्थित बसोबासीलाई पुर्जा दिन सम्झौता गरेको छ । तनहुँको भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकासँग सम्झौता भएको हो । यस्तै आयोगले ९ माघमा भूमीहिन दलित, भूमिहिन सकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफूले बसोबास वा आवाद कमोत गरेको जग्गा लिनलाई आवदेन दिन ३५ दिने सूचना प्रकाशित गरिसकेको छ ।