तनहुँ : तनहुँको व्यास नगरपालिका-१२ छिर्कन निवासी २८ वर्षीय मिर्गाैला पीडित अनुप क्षेत्रीलाई दमौलीका सञ्चारकर्मी राजेन्द्र परियारले सहयोग गर्नुभएकाे छ । क्षेत्रीलाई आइतबार सञ्चारकर्मी परियारले घरमै भेटेर रु पाँच हजार आर्थिक सहयोग प्रदान गर्नुभएकाे हाे ।
सहयोग रकम हस्तान्तरण गर्दै परियारले मिर्गैला पीडित क्षेत्रीको उपचारका लागि केही राहत मिल्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे, “हाम्रो सानाे सहयोगले कसैको ज्यान बाँच्न सक्छ त्यसैले सहयोग गरेको हुूँ । उहाँको घरको आर्थिक अवस्था निकै कमजोर रहेको रहेछ सकेसम्म हामी सबैले सहयोग गर्न जरुरी देखिन्छ ।”
क्षेत्रीले आफूलाई घरमा भेट्न आएर सहयोग गरेकामा सञ्चारकर्मी परियारलाई धन्यवाद व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे, “वैशाख महिनामा डाक्टरले मिर्गाैला प्रत्यारोपण गर्नुपर्छ भन्नुुभएको छ । घरको अवस्था कमजोर भएकोले सबैलाई सहयोगको अपिल गरेको हुँ । हजुरहरुबाट सहयोगको आशा गरेको छु ।” हाल उहाँ पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत हुनुहुन्छ । उपचारका क्रममा मासिक ४० हजारसम्म खर्च हुने गरेकाे उहाँले बताउनुभयाे ।
उहाँलाई सहयोग गर्न चाहनेले ९८५६००१६१९ मा सम्पर्क गर्न सक्नुहुन्छ ।