तनहुँ : तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटको पर्यटन प्रबद्र्धनका लागि सार्वजनिक निजी साझेदारी (सानिसा) समिति गठन गरिएको छ । व्यास नगरपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकले नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको हो ।
सार्वजनिक निजी साझेदारी ऐन, २०७७ ले गरेको व्यवस्था बमोजिम मानुङकोटको थप विकासका लागि समिति गठन गरिएको नगरपालिकाले जनाएको छ । पछिल्लो समय मानुङकोटमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
माघ २७ हुने ३४ औं नगरसभामा पेश गर्ने गरी संशोधित नीति तथा कार्यक्रम, संशोधित आर्थिक ऐन २०७७, संशोधित विनियोजिन ऐन २०७७ लगायत अन्य विभिन्न कानून सम्बन्धी विधेयक प्रस्ताव पारित गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाको वडा सीमाना हेरफेर गर्नका लागि उपप्रमुख मीरा जोशीको संयोजकत्वमा गठित अध्ययन समितिले पेश गरेको प्रतिवेदन उपर छलफल गरी उक्त प्रतिवेदन नगर सर्वदलीय संयन्त्रमा छलफल गराई प्राप्त हुन आउने निष्कर्ष सहित आवश्यक निर्णयका लागि आगामी नगरसभामा पेश गर्ने निर्णय भएको छ । बैठकले राष्ट्रिय एकीकृत सूचना प्रणाली पोर्टलको सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७७ संशोधन सहित पारित गरेको छ ।