काठमाडौ: नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको छ । यो बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सकहरूको आशंका छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हँुदै काठमाडौं आएका एक नेपालीमा कोरोना परीक्षण गर्दा नयाँ प्रकारको भाइरस पत्ता लागेको थियो । उनमा ‘एस जिन’ देखिएको थिएन । ती व्यक्तिको सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबैमा नयाँ भाइरस पुष्टि भएको थियो ।
युके भेरिएन्ट भाइरसमा पनि ‘एस जिन’ देखिँदैन । त्यसैले उनीहरूमा अहिले देखिएको भाइरस पनि युके भेरिएन्ट हुन सक्ने चिकित्सकहरूको अनुमान छ । नेपालमा पहिलोपटक गत २७ पुसमा तीनजनामा युके भेरिएन्ट पुष्टि भएको थियो । उनीहरू सबै बेलायतबाट फर्किएका थिए । नयाँ प्रजातिको कोरोना भाइरस पहिचान गर्ने प्रयोगशाला नेपालमा छैन । त्यसैले विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा उनीहरूको जिनोम सिक्वेन्सिङ गरिएको थियो ।
केही हप्ताभित्रै केन्द्रीय प्रयोगशालामा जिनोम सिक्वेन्सिङ गर्न मिल्ने उपकरण जडान गरिने निर्देशक पौडेलले बताउनुभयो । अहिले नेपालमा ‘एस जिन’ पोजेटिभ वा नेगेटिभ के छ भनेर मात्रै हेर्न सकिन्छ ।
यो खबर आजको नयॉ पत्रिका दैनिकमा प्रकाशित छ