तनहुँ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा रहेको सहिदचन्द्र नेपालीको छात्रावासमा सहिद स्मारक र हरियाली पार्क निर्माण शुरु भएको हो । गण्डकी प्रदेश सरकारको रु पाँच लाख आर्थिक सहयोगमा निर्माण शुरु भएको पार्कको सोमबार गण्डकी प्रदेशसभा सदस्य डोवाटे विकले शिलान्यास गर्नुभयो ।
उक्त स्मारकमा सहिद चन्द्रबहादुर नेपाली (सार्की) को अर्धकदको शालिक रहनेछ । चन्द्रबहादुरको विसं २००७ साल माघ २ गते जनक्रान्तिमा लाग्दा तत्कालिन राणा शासकहरुबाट बन्दीपुरस्थित कैदखानाबाट निकालेर राति गोली हानी क्रुरतापूर्वक हत्या भएको थियो ।
शिलान्यास कार्यक्रममा गण्डकी प्रदेश सभासदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, व्यास नगरपालिकाका प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ लगायतले सहिदका योगदान र छात्रावासको आवश्यकताबारे चर्चा गर्नुभयो ।
उक्त छात्रावासमा हाल ३० जना विद्यार्थी बस्दै आएका छन् । उनीहरुले प्रति महिना रु एक हजार शुल्क छात्रावासलाई बुझाउँछन् । खाना खाजाको खर्च भने स्वयं विद्यार्थीले बेहोर्नुपर्छ । असहायको हकमा छात्रावासमा आवास, खानाखाजा खर्च र पढाईशुल्क छात्रावास कोष र क्याम्पस कोषले बेहोर्ने गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो ।
हाल छात्रावास वार्डेनको रुपमा सहायक क्याम्पस प्रमुख कल्पना लम्साल हुनुहुन्छ । छात्रावासमा एक जना आंशिक÷अस्थायी कर्मचारीको व्यवस्था गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकको नेतृत्वमा छात्रावास निर्माण गरी दुई वर्ष अगाडी हस्तान्तरण भएको थियो । निर्माण प्रारम्भ भएको १९ वर्षपछि विसं २०७५ साल मङ्सिरदेखि छात्रावास सञ्चालनमा आएको थियो ।
छात्रावास निर्माणका लागि रु ६५ लाख खर्च भएको छ । क्याम्पसमा करिब दुई हजार चार सय विद्यार्थीमध्य अध्ययनरत छन् । क्याम्पसमा तनहुँका अतिरिक्त गोरखा, लमजुङ लगायतका जिल्लाका विद्यार्थी अध्ययन गर्छन् । क्याम्पसमा अध्ययन गर्नेमध्ये करिब पाँच सय विद्यार्थीको छात्रावासमा बस्ने माग रहेको छ । जसका लागि छुट्टै छात्रावास भवन निर्माण गर्नुपर्ने आवश्यकता देखिएको क्याम्पस प्रमुख हड्खलेले बताउनुभयो ।