‘राजनीतिक स्थिरताको पक्षमा सर्वोच्चको फैसला’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘राजनीतिक स्थिरताको पक्षमा सर्वोच्चको फैसला’

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७७, बुधबार

    तनहुँ : नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले राजनीतिक स्थिरताको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको बताउनुभएको छ । प्रतिनिधिसभा पुनस्थापना भएको खुशीयालीमा नेपाली काङ्ग्रेस तनहुँले बुधबार आयोजना गरेको सभामा बोल्दै वाग्लेले संविधान र कानून अनुसार सर्वोच्चले फैसला गरेको उल्लेख गर्नुभयो ।

    सर्वोच्चको फैसलाले मुलुकमा देखिन थालेको कालो बादल हटेको वाग्लेको भनाई थियो । एउटा व्यक्तिको अहंकार र सनकले कुन हदसम्म पार गर्छ भन्ने जनताले देख्ने मौका पाएको बताउँदै वाग्लेले अदालतले केपी ओलीको गलत कदम सच्याएको बताउनुभयो ।

    नेपाली काङग्रेसका जिल्ला सभापति बैकुण्ठ न्यौपानेले सडकबाट शुरु भएको आन्दोलन सडकबाटै बिसर्जन गरिएको बताउनुभयो । लोकतन्त्रको यात्रामा नेपाली काङ्ग्रेसले निर्णायक भूमिका खेल्दै आएको बताउँदै न्यौपानेले कम्युनिष्ट सरकारको सिद्धान्त लोकतान्त्रिक मूल्य मान्यता विपरित रहेको न्यौपानेले आरोप लगाउनुभयो ।

    न्यौपानेले वर्तमान सरकारका प्रतिनिधिले बोलेको कुराले लोकतन्त्रको खिल्ली उडाएपनि अदालतले आफ्नो उचाई अझै उचो बनाएको बताउनुभयो । नेकपाको अधिनायकवादी शैलीलाई प्रचार गर्दै काङ्ग्रेस आगामी निर्वाचनमा जानुपर्ने न्यौपानेले उल्लेख गर्नुभयो ।

    महासमिति झुल बहादुर आलेले कम्युनिष्ट पार्टीले संविधान कार्यान्वयन नगर्ने बताउँदै संविधान संरक्षण गर्नु काङ्ग्रेसको दायित्व भएको बताउनुभयो ।

    क्षेत्रीय सभापति उदयराज गौलीले सर्वोच्च अदालतले जनमतको कदर गरेको बताउनुभयो । संविधानको फैसलाले संविधान ट्रयाकमा आएको र त्यसको जस नेपाली काङ्ग्रेसले पाएको गौलीले बताउनुभयो ।