व्यासले प्रथम महिला खुल्ला म्याराथन गर्ने, रुट व्यास गुफादेखि तनहुँसुरसम्म
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    व्यासले प्रथम महिला खुल्ला म्याराथन गर्ने, रुट व्यास गुफादेखि तनहुँसुरसम्म

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : चार वर्षदेखि अल्ट्रा म्याराथन गर्दै आएको व्यास नगरपालिकाले पहिलो पटक महिला हाफ म्याराथन गर्ने भएको छ । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकाले फागुन २४ गते हाफ म्याराथन गर्न लागेको हो ।

    व्यास नगर  अल्ट्रा म्याराथनको सफलताका कारण साहसिक पर्यटकीय खेलको रुपमा रहेको दौड प्रतियोगितामा महिला सहभागिताको महत्वलाई महशुस गरी धार्मिक पर्यटकीय स्थल व्यास-३ व्यासगुफादेखि ऐतिहासिक व्यास-११ तनहुँसुरसम्म म्याराथन गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

     गत वर्ष तय गरिएको महिला म्याराथन कोभिडका कारण स्थगित भएको थियो । खुल्ला हाफ म्याराथनमा प्रथम पुरस्कार रु ४१ हजार ७७, द्वितीय पुरस्कार रु ३१ हजार ७७, तृतीय पुरस्कार रु २१ हजार ७७ र सान्त्वना पुरस्कार पॉच जनालाई रु ११ हजार ७७ प्रदान गरिनेछ ।

    हाफ म्याराथन व्यास गुफादेखि सफासडक हुदै ट्राफिक चोक, भोर्लेटार चोक,पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, वेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक,चण्डीथान,गद्दीचौतारा हुदै व्यास नगरपालिका वडा नं ११ स्थित ऐतिहासिक तनहुँसुर दरवारमा पुगेर टुङ्गिनेछ ।

     म्याराथन रुटमा खेलाडीबाट नियम सम्मत रुपमा दौड सम्पन्न गर्नका लागि विभिन्न ५ स्थानमा चेकपोइन्टको व्यवस्था गरिएको छ । चेकपोईन्टमा धावकहरुले दौडको नियम पालना गरे नगरेको निरीक्षण गरिनेछ भने धावकका लागि पानि, चकलेट साथसाथै स्वास्थ्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण सामग्रीहरु सम्बन्धित वडाहरुमा टोल विकास संस्थाहरुको सहभागितामा राखिने छ। 

    म्याराथनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि नगर प्रमुखको संयोजकत्वमा नगर सभा सदस्यहरु सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको छ । जसअन्तरगत  विभिन्न ९ वटा उप समितिहरु गठन गरिएको छ ।