तनहुँ : जिल्ला कारागार तनहुँबाट २५ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । आइतबार दिउँसो कारागारभित्र कैदीबन्दीबीच झडप भएपछि बसेको सुरक्षा निकायको बैठकले २५ जनालाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरिक्षक अरुण पौडेल सहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले झडप र विवादमा संलग्न कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय बमोजिम राति नै उनीहरुलाई स्थानान्तरण गरिसकिएको निमित्त जेलर नारायण अधिकारीले जानकारी दिनुभयो । “दुई समूहबीच भएको विवादका कारण सामान्य झैझगडा भएको हो, उक्त घटनामा ६ जना घाइते भएकामा उपचारपश्चात् उनीहरु डिस्चार्ज भइसकेका छन्,” अधिकारीले भन्नुभयो ।
कारागारमा केही समय अगाडी स्थानान्तरण भई आएका कैदीबन्दीका कारण झगडा भएको कारागार स्रोतले जनाएको छ । नाइके फेर्नुपर्ने मागमा विवाद हुँदा दुई समूहबीच झडप भएको हो ।