तनहुँ : तनहुँका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षलाई अनुगमन तथा मूल्याङ्कन सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ । गण्डकी प्रदेशको प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति तनहुँको समन्वयमा मङ्गलबार अभिमुखीकरण प्रदान गरिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहमा हुने हरेक विकास निर्माण लगायतका कामको अनुगमनको जिम्मा उपप्रमुख तथा उपाध्यक्षलाई दिएको छ । अनुगमन र मूल्याङ्कनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेल, आयोगका सदस्य विष्णु बराल र मुख्यमन्त्री तथा मन्त्रीपरिषदका सचिव ईन्दु घिमिरेले सहजीकरण गर्नुभएको थियो।
जिल्ला समन्वय समितिका प्रवक्ता एवं सदस्य गलबहादुर गुरुङका अनुसार कार्यक्रममा समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल लगायत दशवटै स्थानीय तहका उपप्रमुख/उपाध्यक्षको सहभागिता थियो ।