तनहुँ : कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी घर भई हाल रुपन्देहीको देवदह गाउँपालिका–२ बस्ने ६० वर्षीया ज्ञानुमाया नेपाली रहेकी छिन् ।
निजलाई मङ्गलबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । नेपालीलाई सर्वोच्च अदालतले विसं २०६२ साउन ११ गते कर्तव्य ज्यान मुद्दामा दश वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
तनहुँ प्रहरीले पछिल्लो समय फरार प्रतिवादी पक्राउ गर्न विशेष अभियान नै चलाएको छ । प्रहरी उपरिक्षक अरुण पौडेलका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३ सय ४७ फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले यस अवधिमा दुई सय दश मुद्दाका तीन सय ४७ फरार प्रतिवादी पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये ९० जना महिला र दुई सय ५७ पुरुष रहेका छन् । पक्राउ परेकाबाट रु ५९ लाख १७ हजार एक सय १५ असुली गर्नुपर्ने भएकाले अदालतमा बुझाइएको छ ।