सचेतना जगाउन मोवाइलमा ‘अलर्ट म्यासेज’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सचेतना जगाउन मोवाइलमा ‘अलर्ट म्यासेज’

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७७, बुधबार

    तनहुँ : चितुवाको सबैभन्दा बढी प्रभाव रहेको स्थानीय तह हो तनहुँको भानु नगरपालिका । पछिल्लो साढे दुई वर्षको अवधिमा चितुवाको आक्रमणबाट तनहुँमा दश जना बालबालिकाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये ६ जना भानु नगरपालिकाका छन् ।

    मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण जिल्लामा चितुवाको आतङ्क बढ्दो छ । चितुवाको बढ्दो आक्रमण न्यूनीकरण गर्न डिभिजन वन कार्यालय तनहुँले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसैक्रममा कार्यालयले भानुका सर्वसाधारणको मोवाइलमा सन्देशमूलक सन्देश पठाउने व्यवस्था शुरु गर्ने भएको छ । नेपाल टेलिकमसँगको सहकार्यमा त्यस क्षेत्रका सर्वसाधारणका मोवाइलमा चितुवाको आक्रमणबाट बच्ने उपाय जानकारी दिन उक्त व्यवस्था गर्न लागिएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

    “चितुवाको आक्रमणबाट बच्न समुदायस्तरमै पुगेर सचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको छ,” उहाँले भन्नुभयो, “अब मोवाइलमा सचेतनामूलक सन्देश पठाउने व्यवस्था पनि शुरु गर्न लागेका छौ ।” प्रत्येक व्यक्तिको मोवाइलमा उक्त सन्देश पठाउन सकिए मानव र वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न सकिने काफ्लेले बताउनुभयो । भानुका जङ्गलमा पानीको स्रोत र आहारा प्रजाति नभएका कारण चितुवा पानी र आहारा खोज्दै बस्तीमा आउने गरेको छ । भानुका जङ्गलमा पानीपोखरी बनाउने अभियान पनि सञ्चलन गरिएको काफ्लेले बताउनुभयो ।

    “सामुदायिक वनमा पोखरी बनाउन अनुदान पनि दिएका छौ, आर्थिक स्रोत सवल भएका वनले आफै पनि पोखरी बनाएका छन्,” उहाँले भन्नुभयो, “घर वरपर झाडी, रातकोा समयमा अन्धकार हुँदा चितुवाको आक्रमण बढेकाले त्यसतर्फ पनि सचेतना जगाइएको छ ।”

    जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । “तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई जानकारी गराएका छौ,” उहाँले भन्नुभयो, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।”

    वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भएपनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको उहाँको भनाई छ ।

    कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्ज्यालो बनाउने, वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्नुपर्ने लगायतका विषयलाई ध्यान दिनुपर्ने कुराहरु उपभोक्तालाई सचेत गराएको छ । जङ्गलमा पानीको अभावका कारण पनि पानी खोज्दै चितुवा बस्ती छेउछाउ आउने गरेको छ । “वनजङ्गलमा भएका पानीका स्रोत मासिदै गएको छ, पानी खोज्दै बस्तीमा आउने चितुवाले घर नजिकै बालबालिका देखेपछि बच्चामाथि आक्रमण गर्न सक्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि जङ्गलमा पोखरी बनाएर पानीको स्रोत संरक्षण गर्न सकियो भने चितुवाबाट बच्न सकिन्छ ।”

    काफ्लेका अनुसार जङ्गलमा पानीको व्यवस्थापन, घरवरपर झाडी व्यवस्थापन र जङ्गलमा घाँसे मैदान संरक्षण गर्न सकिए चितुवाले मानिसमाथि आक्रमण गर्ने स्थिति न्यूनीकरण हुँदै जानेछ । सानो बच्चा साथमा भएको अवस्थामा, बूढो वा घाइते भई सिकार खेल्न अशक्त भएको अवस्थामा, शिकार खाइरहेको वा बच्चालाई खुवाइरहेको अवस्थामा, अचानक जम्काभेट भएमा र भाग्ने ठाउँ वा मौका नपाएमा चितुवाले मानिसमाथि आक्रमण गर्ने गरेको बताइन्छ ।

    पछिल्लो साढे दुई वर्षको अवधिमा तनहुँमा दश जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । भानु, शुक्लागण्डकी, आँबुखैरेनी, बन्दीपुर लगायतका ठाउँमा दश वर्ष भन्दा कम उमेर समूहका बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । डिभिजन वन कार्यालय तनहुँले खोरमा नियन्त्रणमा लिएर ११ वटा चितुवालाई अन्यत्र स्थानान्तरण पनि गरिसकेको छ ।

    भानुमा १५ भन्दा बढी चितुवा रहेको अनुमान

    भानु नगरपालिकामा मात्रै १५ भन्दा बढी चितुवा रहेको अनुमान छ । भानुका जङ्गलमा चितुवा गणनाका लागि क्यामरा जडान गरिएको थियो । यद्यपि उक्त अध्ययनको आधिकारिक नतिजा सार्वजनिक नभएपनि १५ भन्दा बढी चितुवा भानुमा रहेको अनुमान छ । २२ सामुदायिक वनको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिएको थियो । कार्यालय प्रमुख काफ्लेका अनुसार भानुका जङ्गलमा चितुवाको आहारा प्रजाति भेटिएको छैन ।