तनहुँ : फागुन २३ गतेदेखि शुरु हुने कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान तनहुँमा दुई चरणमा सञ्चालन हुने भएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण एवं कोभिड १९ रोग विरुद्ध खोप अभियान सञ्चालन व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले तनहुँमा दुई चरणमा उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
जिल्लाको खोप तथा खोपजन्य सामग्री, कोल्डचेनको व्यवस्था, जनशक्ति आदि अवस्थाको आधारमा दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । पहिलो चरण फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा सञ्चालन हुनेछ ।
दोस्रो चरण फागुन २८ गतेदेखि चैत २ गतेसम्म शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालन हुनेछ । सम्बन्धित पालिकाको स्वास्थ्य संस्थाबाट खोप अभियान सञ्चालन गर्ने र आवश्यकताको आधारमा खोप अभियान सञ्चालन दिन थप गर्न सकिने निर्णय भएको छ ।
खोप अभियान अन्तर्गत ६५ वर्षभन्दा माथिका सबै व्यक्ति र दोस्रो चरणमा ५५ वर्ष भन्दा माथिका व्यक्तिहरुलाई खोप उपलब्धताको आधारमा क्रमशः खोप दिने व्यवस्था मिलाउने निर्णय भएको छ ।
बैठकले कोभिड १९ रोग विरुद्धको खोप अभियानलाई सफल बनाउन जिल्लाका सबै स्थानीय तह, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, सबै राजनीतिक दल, नागरिक समाज, व्यापारी, बुद्धिजीवि, पत्रकार तथा सरोकारवालालाई प्रचारप्रसार र सहयोग गर्न अनुरोध गरेको छ ।
सबै पालिकामा खोप अभियानको क्रममा एक जना चिकित्सक सहितको एईएफआई टिम परिचालन गर्ने व्यवस्था स्थानीय स्तरबाट मिलाउने र जिल्ला समन्वय समितिका पदाधिकारीहरुले आवश्यकता अनुसार अनुगमन गर्ने निर्णय बैठकले गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रादेवी पौडेल, जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी, कालीभञ्जन गणका प्रमुख सेनानी मनोज गुरुङ, प्रहरी उपरिक्षक अरुण पौडेल लगायत उपस्थित हुनुहुन्थ्यो ।