मिर्गौला पीडित मेगिसराकाे उपचारका लागि रु एक लाख ३७ हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडित मेगिसराकाे उपचारका लागि रु एक लाख ३७ हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७७, शनिबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१४ केशवटार निवासी दुवै मिर्गौला पीडित मेगीसरा थापाको उपचारका लागि रु एक लाख ३७ हजार ६ सय ३८ हस्तान्तरण गरिएको छ । दमौली केशवटार समाजको पहलमा सङ्कलन भएको उक्त रकम आज मिर्गौला पीडितका परिवारलाई हस्तान्तरण गरिएको हो ।

    समाजका आर्थिक सङ्कलन समितिका संयोजक युवराज आलेले मिर्गौला पीडितका श्रीमान् खेमबहादुर थापालाई रकम हस्तान्तरण गर्दै थप रकम सङ्कलनको अभियान जारी रहेको बताउनुभयो । समाजले दुई हप्ताको अवधिमा उक्त रकम जुटाएको हो । स्वदेश तथा विदेशबाट सहयोग सङ्कलन आउने क्रम जारी रहेको आलेले जानकारी दिनुभयो ।

    मिर्गौला पीडितका श्रीमान् खेमबहादुरले श्रीमतीको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभयो । “घरको आर्थिक अवस्था पनि कमजोर छ, परिवारकै सदस्यको मिर्गौला प्रत्यारोपणका लागि पनि ठूलो रकम आवश्यक पर्दो रहेछ,” उहाँले भन्नुभयो ।

    मिर्गौला पीडित मेगीसराको चितवनस्थित पुरानो मेडिकल कलेजमा डायलासिस भइरहेको छ । बिरामी भएर औषधि सेवन गरिरहेको समयमै एक वर्ष अगाडी परीक्षण गराउँदा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो ।

    सहयोग जुटाउँदै समाज

    व्यास नगरपालिका–१४ घर भई मिर्गौला पीडित भएकाहरुको लागि समाजले आर्थिक सङ्कलन गर्दै आइरहेको छ । यस अगाडी दुवै मिर्गौला फेल भएका सन्तोष राना मगरको उपचारका लागि समाजको पहलमा रु ३१ लाख भन्दा बढी रकम सङ्कलन भएको थियो ।

    “वडावासीको दुःखमा मलम लगाउन समाजले आर्थिक सहयोग सङ्कलन अभियान चलाउँदै आएको छ । सन्तोष रानाको उपचारका लागि पनि देश तथा विदेशबाट राम्रो रकम सङ्कलन भयो,” संयोजक आलेले भन्नुभयो ।