दमौली खानेपानीद्वारा नगर विकासलाई रु नौ करोड भुक्तान बाँकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली खानेपानीद्वारा नगर विकासलाई रु नौ करोड भुक्तान बाँकी

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०७७, शनिबार

    तनहुँ : तनहुँको सदरमुकाम दमौली बजारमा खानेपानी उपलब्ध गराउँदै आएको दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नगर विकास कोषलाई रु नौ करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । दोस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत नगर विकास कोषले दमौली खानेपानीलाई ऋण उपलब्ध गराएकामा संस्थाले रु नौ करोड पाँच लाख ३७ हजार दुई सय ६४ भुक्तानी गर्नुपर्ने देखिएको हो ।

    विसं २०७० असार २० गतेको सम्झौता अनुसार नगर विकास कोषले संस्थालाई रु १२ करोड दुई लाख ७७ हजार एक सय ७४ ऋण दिएकामा रु दुई करोड ९७ लाख ३९ हजार नौ सय ९ भुक्तान भइसकेको छ । साथै संस्थाले हालसम्मको रु एक करोड ९२ लाख ५२ हजार सात सय ८८ व्याज भुक्तानी गरिसकेको खानेपानी संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिनुभयो ।

    खानेपानी आयोजना निर्माणका क्रममा नेपाल सरकारको ५० प्रतिशतले हुन आउने रु १२ करोड ६७ लाख ३२ हजार दुई सय ९६, उपभोक्ता संस्थाको रु १२ करोड ६७ लाख ३२ हजार दुई सय ९६ लगानी गरिएको थियो । त्यसमध्ये पनि रु १२ करोड दुई लाख ७७ हजार एक सय ७४ संस्थाले र रु ६४ लाख ५५ हजार एक सय २२ जनताबाट उठाइएको थियो ।

    दमौली खानेपानी संस्थाले व्यास नगरपालिका–२, ३ र ४ मा खानेपानी सुविधा उपलब्ध गराउँदै आएको छ । यी तीनवटा वडामा तीन हजार चार सय ६ निजी धारा र एक सय २० कार्यालय सङ्घसंस्था गरी तीन हजार पाँच सय २६ धारा जडान गरिएको छ । आयोजनाको मुख्य स्रोतहरु गुणादी वाराही मूल खानेपानी मुहानदेखि फिल्टर ट्याङ्कीसम्म ९.२ किमि, मादी नदी सम्वेलदेखि बाघभञ्ज्याङ फिल्टर ट्याङ्कीसम्म ०.९५ किमि, बाघभञ्ज्याङदेखि फिल्टर ट्याङ्कीदेखि साँखरसम्म १.१९५ किमि र साँखरदेखि शितलचोक ट्याङ्कीसम्म ०.४४० किमि हुन् ।

    आयोजना अन्तर्गत दुई वटा इन्टेक, तीन वटा ग्रीट च्याम्वर, पाँच वटा पानीपोखरी, पानी प्रशोधन प्रणाली, २.६३ किमि मुख्य प्रशारण लाइन, ६२ किमि वितरण पाइप सञ्चालनमा रहेको छ ।

    मादी नदीबाट पम्पिङ प्रणालीबाट पानी तानेर फिल्टर गरी वितरण गर्ने उद्देश्यसहित विसं २०६९ पुस २० गते चौपक्षीय सम्झौता भएको थियो । आयोजनाको निर्माण कार्य विसं २०७५ असार मसान्तमा सम्पन्न भएको थियो । हाल दमौली बजारमा दैनिक ३१ लाख लिटर पानी आवश्यक पर्ने भएपनि आवश्यकता अनुसारको पानी वितरण हुन नसकेको गिरीले बताउनुभयो । “केही हदसम्म खानेपानीको अभाव हटाउन यस आयोजनाले सहयोग गरेपनि पर्याप्त खानेपानी उपलब्ध गराउन सकिएको थिएन, अझैपनि मालपोत लाइन र देउरालीनगरमा पानीको अभाव यथावत छ,” उहाँले भन्नुभयो, “उक्त क्षेत्रमा सहज रुपमा खानेपानी उपलब्ध गराउन समिति लागिपरेको छ ।”

    संस्थाले ० देखि ७ युनिटसम्म न्यूनतम रु एक सय महशुल दर निर्धारण गरेको छ । साथै ८ देखि १० युनिटसम्म प्रति युनिट २५, ११ देखि १५ सम्म प्रति युनिट रु ३०, १६ देखि २० सम्म प्रति युनिट ३५, २१ देखि २५ सम्म प्रति युनिट ४०, २६ देखि ३० सम्म प्रति युनिट ४५ र ३१ माथि प्रति युनिट रु ५० कायम गरिएको छ ।

    संस्थाले व्यास नगरपालिका–२, ३ र ४ का सम्पूर्ण क्षेत्रहरुमा खानेपानी सेवा सञ्चालनलाई निरन्तरताका दिनुका साथै गुणादी मुहानलाई व्यवस्थित गर्ने, जनसङ्ख्याको बढ्दो चापलाई मध्यनजर गर्दै बजारमा पर्याप्त खानेपानी उपलब्ध गराउन नयाँ स्रोतको खोजी गर्ने तयारी गरेको छ ।