रणनीतिक सडक सञ्जाल शुभारम्भ भएपछि स्थानीयवासी खुशी, तनहुँमा कुन कुन सडक भए छनाैट ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रणनीतिक सडक सञ्जाल शुभारम्भ भएपछि स्थानीयवासी खुशी, तनहुँमा कुन कुन सडक भए छनाैट ?

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७७, आईतवार

    तनहुँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १ सय ६५ वटा सडक सञ्जालको शुभारम्भ गर्दा तनहुँमा दुई वटा रणनीतिक सडक आयोजना छनौट भएको छ । तनहुँका दुई रणनीतिक सडक योजना छनौट भएसँगै यहाँका स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।

    तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत मादी मस्र्याङ्दी र तनहुँ क्षेत्र नं २ अन्तर्गत गाइघाट गल्याङ सडकखण्ड छनौट भएको छ । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा छनौट भएका दुई रणनीतिक सडक आयोजनाका लागि रु ४०÷४० करोड बजेट विनियोजन हुने भएको छ ।

    व्यास नगरपालिका–९ गजौडेका विजय आचार्यले मादी मस्र्याङ्दी मार्गलाई निर्वाचन क्षेत्र रणनीतिक योजनामा छनौट गरिएपछि खुशी व्यक्त गर्नुभएको छ । “वर्षौदेखिको हाम्रो सपना वर्तमान सरकारले पूरा गर्ने भएको छ, अब कामले पनि गति लिन अपेक्षा लिएका छौ,” उहाँले भन्नुभयो ।

    व्यास र भानु नगरपालिकाको सिमाबाट शुरु हुने उक्त मार्ग गोरखाको पालुङटारसम्म जोडिनेछ । कूल ३२ किमि दूरीको उक्त सडकको १२ किमि दूरी कालोपत्रे सम्पन्न भइसकेको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले उक्त सडक कालोपत्रे भएपछि यस क्षेत्रका स्थानीयवासीको जीवनयापनमा सहजता आउने बताउनुभयो ।

    यसैगरी तनहुँ क्षेत्र नं २ अन्तर्गत तनहुँको गाइघाटदेखि गल्याङसम्म जोड्ने सडक योजना छनौट गरिएको छ । तनहुँको देवघाटबाट शुरु हुने उक्त मार्ग ऋषिङ, घिरिङ, स्याङ्जाको चापाकोट हुँदै गल्याङसम्म पुग्नेछ । उक्त सडकको १ सय ७० किमि छ । हाल उक्त सडकको डिपिआर गर्ने काम शुरु भएको तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देलले जानकारी दिनुभयो ।

    हरेक निर्वाचन क्षेत्रमा त्यहाँका सांसदले छानेका सडकहरूलाई छनौट गरी सरकारले एकैसाथ शुभारम्भ गरेको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणसम्बन्धी मापदण्डहरूमा सङ्घीय राजधानीलाई जोड्ने, प्रादेशिक राजधानीलाई जोड्ने, अन्तर्राष्ट्रिय विमानस्थल÷सिमानालाई जोड्ने, दुई निर्वाचन क्षेत्रका प्रमुख स्थलहरूलाई जोड्ने जस्ता विषय समावेश गरिएको छ ।