सङ्घीयताका कारण विकासले गति लियो : मन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    सङ्घीयताका कारण विकासले गति लियो : मन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७७, सोमबार

    तनहुँ : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सङ्घीयताका कारण विकास निर्माणले गति लिएको बताउनुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार र व्यास नगरपालिका–३ देउरालीनगर जोड्न सेती नदीमाथि निर्माण शुरु भएको पक्की पुलको साेमबार शिलान्यास गर्दै मन्त्री गुरुङले सङ्घीयता कारण विकास निर्माणमा प्रगति भएको बताउनुभयो ।

    सङ्घीयताले घर घरमा विकास पुगेको चर्चा गर्दै मन्त्री गुरुङले प्रदेशभित्र आधारभूत खानेपानी सुविधा, हरेक बस्तीमा सडक र विद्युत सुविधा पु¥याउन सरकारले काम गरिरहेको चर्चा गर्नुभयो । “सङ्घीयताले जनप्रतिनिधिलाई राजा बनायो भन्ने गुनासो पनि आउँछ,” उहाँले भन्नुभयो, “सङ्घीयताको मर्म नबुझेकाले त्यसरी बिरोध गरिरहेका छन् ।”

    प्रदेश सरकारले महत्वपूर्ण सडक पुल निर्माणलाई जोड दिएको बताउँदै उहाँले त्यसैको उदाहरण झापुटारमा बन्न लागेको पुल पनि रहेको बताउनुभयो । भौतिक पूर्वाधार निर्माणमा सरकारको जोड रहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारले ७० प्रतिशत बजेट भौतिक पूर्वाधार निर्माणमा विनियोजन गरेको बताउनुभयो ।

    मन्त्री गुरुङले विकास निर्माणका सवालमा सबै दलबीच सहमति र सहकार्य आवश्यक रहेका बताउनुभयो । राजनीतिक दलबीच मतभेद रहेपनि विकास निर्माणका सवालमा एकजुट हुनुपर्नेमा मन्त्री गुरुङको जोड थियो ।

    झापुटारमा निर्माण शुरु भएको पुलले तनहुँको दक्षिणी भेगका जनताको जीवनस्तर परिवर्तन गर्ने बताउँदै उहाँले भन्नुभयो, “तनहुँको कर्णाली भनेर चिनिने दक्षिणी भेगका जनतालाई पुल बनिसकेपछि निकै सुविधा हुन्छ । पुल निर्माणले विकास र समृद्धि सम्भव छ ।” बहुवर्षीय योजना भएका कारण पुलका लागि बजेटको स्रोत सुनिश्चित भइसकेकाले समयमै गुणस्तरीय काम गर्न मन्त्री गुरुङले निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।

    विकास निर्माणका कामका बारेमा जनतालाई जानकारी दिने उद्देश्यले पनि शिलान्यास कार्यक्रम गर्ने गरिएको उहाँको भनाई थियो । “विगतमा पनि कामहरु हुन्थे, तर जनतालाई खासै जानकारी हुन्थेन, जनतालाई विकासबारे जानकारी दिन आजभोलि शिलान्यासका कार्यक्रम गर्ने गरेका हौ,” उहाँले भन्नुभयो ।

    गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले प्रदेश सरकारले विकास निर्माणमा उल्लेख्य प्रगति गरेको बताउनुभयो । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जनताको वर्षौदेखिको सपना पूरा हुने क्रममा रहेको भन्दै समयमै पुल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पुल निर्माणका लागि स्थानीय तहबाट हुनुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले विकास निर्माणका कार्यमा आवश्यक शान्तिसुरक्षाको प्रत्याभूति गराउने बताउनुभयो ।

    प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ को लागतमा पुल निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौसँग सम्झौता भएको थियो । विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको कार्यालय प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।

    एक सय ५४ मिटर लामो रहने पुलको चौडाई ९.५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु चार करोड ५० लाख विनियोजन भएकामा निर्माण कम्पनीलाई रु दुई करोड ८६ लाख भुक्तानी दिइएको छ ।