दुलेगौँडा : प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेपछि खनाल–नेपाल समुहले समान्तर कमिटी गठनलाई तीव्रता दिएको छ । गत बिहीबार गण्डकी प्रदेशबाट समानान्तर कमिटी गठन प्रकृया शुरु भएको थियो । बिहीबार प्रदेश र जिल्ला कमिटी घोषणा गरियो ।
गएको शनिबार तनहुँका दश वटै स्थानीय तहमा समान्तर कमिटी घोषणा भए । अब ती कमितिले पूर्णता पाउन थालेका छन् । सोमबार शुक्लागण्डकी नगर कमिटीलाई पूर्णता दिईएको छ । दुलेगौँडामा नगरस्तरीय अगुवा कार्यकर्ता भेला गर्दै ९१ सदस्यीय कमिटी घोषणा गरिएको हो ।
भेलामा नेकपा (एमाले) का तनहुँ इञ्चार्ज प्रतापलाल श्रेष्ठ, गण्डकी प्रदेश सचिवालय सदस्य रेखा बस्याल, प्रदेश सदस्य चित्र थापा, जिल्ला अध्यक्ष शंकरनारायाण श्रेष्ठ, सचिव श्रीराम कार्की, शुक्लागण्डकी नगर कमिटी अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, उपाध्यक्ष रामबहादुर महत, सचिव कमल ढकाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।