स्थापना दिवसमा ‘व्यास नगर दर्पण’ विमोचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्थापना दिवसमा ‘व्यास नगर दर्पण’ विमोचन

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०७७, सोमबार

    दमाैली : तनहुँको व्यास नगरपालिकाको २९ औं स्थापना दिवसको अवसरमा व्यास नगर दर्पण पुस्तक विमोचन गरिएको छ । विसं २०४८ सालमा स्थापना भएको नगरपालिकाले साेमबार स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री शङ्कर भण्डारीले उक्त पुस्तकको विमोचन गर्नुभएको छ ।

    नगरपालिकाले आगामी दिनमा चाल्ने कदम एवं योजनाहरुलाई युवा पुस्ता र उत्तराधिकारी जनप्रतिनिधिहरुले आत्मसाथ गर्ने प्रकृया स्थापित होस् भन्ने मान्यताले उक्त पुस्तक प्रकाशन गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । नगरपालिकाले विविधतायुक्त गाउँ शहर ः समृद्ध मेरो व्यास नगरलाई मूर्त रुप दिन नगरपालिकाभित्रका कृषि क्षेत्रका सम्भावना, पर्यटन क्षेत्रका सम्भावना, शिक्षा क्षेत्रका सम्भावना र अन्य स्वास्थ्य, औद्योगिक, वातावरणीय क्षेत्रमा उल्लेख्य प्रगतिका लक्ष्यहरु लिएर अघि बढ्ने प्रयास गरेको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

    नगर स्थापनाको ऐतिहासिक पक्ष, विगत र वर्तमानका विभिन्न महत्वपूर्ण पक्षहरुलाई उजागर गरी विकास निर्माणका मुख्य गतिविधि, प्रशासनिक एवं भौतिक क्रियाकलापलाई व्यास नगर दर्पणमा समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । नगरपालिकाले जनताको मागमा आधारित भएर योजना तर्जुमा र सञ्चालन गरेको सिग्देलले बताउनुभयो ।

    नगरपालिकाले नगरको दीर्घकालिन सोच र विकासको लक्ष्यलाई केन्द्रिकृत गी मादी नदी एकीकृत बहुउद्देश्यीय परियोजना, ताल निर्माण, नारेश्वर तालको निर्माण, एकीकृत जग्गा विकास कार्यक्रम, मानुङकोट, तनहुँसुर ऐतिहासिक पर्यटकीय कार्यक्रम, सहिदपार्क, कालिका जङ्गलपार्क, व्यासको १०८ फिटको मूर्ति निर्माण जस्ता कार्यक्रमलाई आर्थिक तथा समृद्धिको आधारशीलाको रुपमा मानेको छ ।

    स्थापना दिवसका अवसरमा पूर्वमन्त्री शङ्कर भण्डारी, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, प्रदेश सभासदस्य डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो ।

    विसं २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि सम्पन्न पहिलो आम निर्वाचनबाट तत्कालिन सरकारद्वारा २०४८ चैत ३० गते व्यास नगरपालिका स्थापना भएको थियो । तत्कालिन जिल्ला विकास समिति तनहुँको (हालको कृषि ज्ञान केन्द्रको कार्यालय पूर्वपट्टि) सानो टिनको छाना भएको भवनमा नगरपालिकाको कार्यालय चलेको थियो ।

    सरकारी कार्यक्रममा ‘मर्यादाक्रम’ काे खिल्ली

    व्यास नगरपालिकाले आयाेजना गरेकाेा कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो, पूर्व सभामुख रामचन्द्र पौडेल । तर सोमबार बिहान मात्र पौडेलका माइला भाईको निधन भएपश्चात् उहॉ कार्यक्रममा आउन सक्नुभएन ।

    केही दिनदेखि जिल्लामै रहनुभएका पौडेल भाईको निधन भएको जानकारी पाएलगत्तै चितवन प्रस्थान गर्नुभयो । पौडेलको अनुपस्थितिमा व्यास नगरपालिकाले पूर्वमन्त्री शङ्कर भण्डारीलाई विशिष्ट अतिथि बनायो । सोही कार्यक्रममा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ समेत सहभागी हुनुहुन्थ्यो । नेपाल सरकारले जारी गरेको मर्यादाक्रममा पूर्वमन्त्री भन्दा राष्ट्रियसभा सदस्यको मर्यादाक्रम माथि हुन्छ । सरकारी कार्यक्रममै व्यास नगरपालिकाले मर्यादाक्रम मिच्दै पूर्वमन्त्रीलाई विशिष्ट अतिथि बनाएकाे छ ।