तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घको अधिवेशन अन्तर्गत वैशाख ४ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन कार्यतालिका अनुसार सोमबार पविन्द्रकुमार श्रेष्ठ, बैकुण्ठनाथ मिश्र र अर्जुन अधिकारीले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।
अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएका श्रेष्ठ सङ्घका पूर्व महासचिव हुनुहुन्छ भने मिश्र वर्तमान प्रथम उपाध्यक्ष हुनुहुन्छ । त्यस्तै अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएका अधिकारी दुई पटक जिल्ला प्रतिनिधि र तीन पटक बजार इकाईको सदस्य भइसक्नुभएको छ ।
अध्यक्षमा पविन्द्र र बैकुण्ठनाथको मात्रै चर्चा चलिरहेको बेला अर्जुन अधिकारीको उम्मेदवारीले त्रिपक्षीय भिडन्त हुने देखिएको छ । व्यावसायिक संस्थामा राजनीति हावी भइरहेको र व्यवसायीको हकहितका लागि बोल्ने कोही पनि नभएकाले आफूले उम्मेदवारी दिएको अधिकारीले बताउनुभयो ।
त्यस्तै प्रथम उपाध्यक्षमा इमकुमार मल्ल, राजकुमार श्रेष्ठ, सुरेश पुरी र सुबोध अधिकारीको उम्मेदवारी दर्ता भएको छ । द्वितीय उपाध्यक्षमा कुमार मल्ल, नेक महम्मद मियाँ र सुनिल श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र महेन्द्रकुमार श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।
एशोसिएट सदस्यमा ओमराज श्रेष्ठ र शिवओम मल्लको उम्मेदवारी परेको छ भने वस्तुगत सदस्यमा क्षेत्रीय होटल सङ्घ र तनहुँ सुनचाँदी व्यवसायी सङ्घको उम्मेदवारी परेको छ । सङ्घको १६ औं अधिवेशन मङ्गलबार हुँदैछ । नयाँ नेतृत्व चयनका लागि निर्वाचन भने वैशाख ४ गते हुनेछ ।